बैशाख ३०, २०८१ आईतबार

विरामी झापा ल्याउन मात्रै ७ हजार भाडा

लिलु डुम्रे

पाँचथर । पाँचथरस्थित जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा बिरामीको उपचारमा समस्या भएको छ । ६ जना विशेषज्ञ हुनुपर्ने जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरका रुपमा डा. बुद्धिबहादुर थापा मात्रै एक्ला विशेषज्ञ हुन् । थापा अस्पतालका सुपरिटेन्डेन्ट पनि हुन् ।


बाल, स्त्री, डेन्टल लगायतका सेवा दिइरहेको जिल्ला अस्पतालमा करारमा सहित गरी जम्मा ४५ कर्मचारी छन् । डा. थापा सहित अस्पतालमा चार चिकित्सक कार्यरत छन् । कर्मचारी समायोजनको पत्र सबैजसो चिकित्सकले बुझिसकेकाले अस्पताल चिकित्सकविहिन हुने चिन्ता व्यक्त गर्छन्, सुपरिटेन्डन्ट थापा ।


१५ बेडका लागि सहज रुपमा सञ्चालन गर्ने क्षमता रहेको अस्पतालले जेनतेन ३५ बेड चलाइरहेको छ । गर्मीको समयमा ५० बेडहरु सञ्चालन गर्नुपर्ने बाध्यता रहेको सुपरिटेन्डेन्ट थापाले जानकारी गराए । उनले थपे, ‘बिरामी बढेसँगै भुइँमा राखेर पनि उपचार गराउनुपर्छ ।’


अस्पतालमा जनशक्तिको अभाव त छ नै, कार्यरत कर्मचारीले समयमा तलब समेत प्राप्त गरेका छैनन् । थापाले भने, ‘तलब खुवाउनै आन्दोलन गर्नुपर्ने स्थिति छ ।’ स्थानीय तहले जिल्ला अस्पतालको लागि ध्यान नदिएको थापाले गुनासो गरे ।


औषधि किन्नका लागि आवश्यक बजेट अभाव रहेको सुनाउँदै थापाले जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने औषधि समयमा उपलब्ध नगराएको बताए ।
५० बेडको जिल्ला अस्पताल बनाउने सरकारी नीति अनुरुप जिल्ला अस्पतालको भवन बनिरहेको छ । तर, ठेकेदारबीचको आन्तरिक द्वन्द्वले समयमा अस्पताल निर्माण हुन सकेन । थापाले भने, ‘१४ महिना भित्र नयाँ भवन बन्ने सम्भवना छ ।’ स्वास्थ्य खवरले लेखेको छ ।


जिल्लामा स्वास्थ्य कार्यक्रम र औषधि वितरण गर्ने स्वास्थ्य कार्यालय पाँचथरले प्रभावकारी ढंगले कार्य गर्न सकेको छैन । ४० वटा स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य केन्द्रमा खोप, पोषण तालिम लगायतका क्षेत्राधिकार रहेको स्वास्थ्य कार्यालयमा कर्मचारी अभाव छ । कार्यालय प्रमुख सहित तथ्यांक सहायक, ल्याब टेक्निसियन र पब्लिक हेल्थ नर्स खाली छन् ।

गम्भीर बिरामी झापा पुर्याउनुपर्ने बाध्यता
८ स्थानीय तह रहेको पाँचथरका अधिकांश भाग ग्रामीण क्षेत्र छन् । जिल्ला अस्पताल सहित निजी अस्पतालमा समर्पित र पाथिभरा जिल्ला सदरमुकाम फिदिममा सञ्चालित छन् । समर्पितमा २५ बेड क्षमता छ भने पाथिभराले पोलिक्लिनिकका रुपमा सेवा दिइरहेको छ । सञ्चालित सबै अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा गम्भीर बिरामीलाई पाँच घण्टाको दूरीमा रहेको झापाको अस्पतालमा ल्याउनुपर्ने बाध्यता छ ।


समर्पितमा एमडी डाक्टर एक जना मात्रै छन्। मेडिसिटी अस्पतालसँग उपचार सम्झौता गरेको समर्पितले काठमाडौंदेखि डाक्टर भित्र्याएर महिनाको एक पटक उपचार सेवा दिंदैआएको छ । विशेषज्ञ चिकित्सकलाई आवश्यक पारिश्रमिक उपलब्ध गराउन नसक्दा स्थायी रुपमा डाक्टर राख्न नसकिएको समर्पित अस्पतालका मेडिकल अधिकृत विकासचन्द्र सुवेदीले जानकारी गराए ।


पाँचथर सहित ताप्लेजुङ, तेह्रथुम र इलामका बिरामीहरु उपचारका लागि फिदिम पुग्ने गरेका छन् । विशेषज्ञ डाक्टरको अभावमा एम्बुलेन्सबाट झापा पुर्याउँदा भाडा मात्रै सात हजार बढी तिनुपर्ने बाध्यता रहेको स्थानीयहरुले सुनाए ।

प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]