बैशाख ८, २०८१ शनिबार

झापा गाउँपालिकामा युवाहरुको खबरदारी

कामाटोली । जनमैत्री बजेट , नीति तथा कार्यक्रम निर्माण गर्न नसकेको भन्दै झापा गाउँपालिकाका युवाहरुले खवरदारी शुरु गरेका छन् । खवरदारीको पहिलो चरणमा युवाहरुले जनमैत्री कार्यक्रम निर्माण गरेर झापा गाउँपालिकाबासीको माग सम्बोधन गर्न ज्ञापन पत्र बुझाएका छन् ।

स्थानीय युवा मनोज ताम्लीको नेतृत्वमा आज गाउँपालिका पुगेको टोलीले अध्यक्ष जयनारायण शाहलाई ज्ञापन पत्र बुझाएको हो । उनीहरुले पूर्वाधारलाई मात्रै बजेट छुट्याएर कृषि, शिक्षा, स्वास्थ्य र रोजगारलाई ओझेलमा पार्ने काम गरेको ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

०७७/७८ को नीति कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई बजेट नछुट्याएको भन्दै तत्काल कार्यक्रम संशोधन गरेर जनमैत्री कार्यक्रम बनाउन युवाहरुले माग गरेका छन् । ज्ञापन पत्र बुझाउन गएको टोलीलाई गाउँपालिका प्राङ्गणमा सम्बोधन गर्दै ताम्लीले तीन वर्षसम्म गाउँपालिकाको काम नियालेको र अब पूर्ण रुपमा खवरदारी शुरु गरेको बताए । उनले कार्यक्रम निर्माणमा मनोमानी हिसाबले जनजीविकासँग तालमेल नहुने कार्यक्रम बनाएकोमा आपत्ति जनाएका छन् ।

गाउँपालिकामा कृषि क्षेत्रलाई उपहास गरेर जनप्रतिनिधिले किसानको मर्म नबुेझको बताउँदै ताम्लीले भने – ‘अहिलेसम्मको धैर्यता अब टुटेको छ । खवरदारीका लागि युवा जागरुप भइसकेका छौं ।’ युवाहरुलाई अभिव्यक्ति दिदैं उनले झापाबासी नागरिकको जीवन उकास्ने कार्यक्रम ल्याउन आग्रह समेत गरेका छन् । उनले गाउँपालिकाले ल्याएको कार्यक्रमबाट गाउँपालिका समृद्ध हुन नसक्ने दावी गरेका छन् । गाउँपालिका अध्यक्ष जयनारायण शाहलाई उनीहरुले गाडि दुरुपयोग गरेको आरोप समेत लगाएका छन् । झापा गाउँपालिकाको अध्यक्ष भएर बिर्तामोडमा बास बस्न जाने कुरा अख्तियारको दुरुपयोग भएको युवाहरुको ठहर छ । उनीहरुले अध्यक्षलाई आफ्नै नागरिक, मतदातासँग बस्न आग्रह गरेका छन् ।

युवाहरुको ज्ञापन पत्र बुझेर अध्यक्ष शाहले युवाहरुको माग सम्बोधन गर्दै समन्वय गरेर काम गर्ने बताएका छन् । उनले आगामी दिनमा थप सहकार्य गरेर नागरिकको काम गर्ने प्रतिबद्धता जनाए ।

ज्ञापन पत्र बुझाएपछि युवाहरुको टोलीले सूचनाको हक प्रयोग गरेर गाउँपालिकामा सूचना माग गरेका छन् । गाउँपालिकामा पारदर्शिताको सवाल समेत उठेपछि सूचना माग गरिएको बताइएको छ ।

प्रकाशित मिति : असार १७, २०७७ बुधबार  ६ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]