असार ५, २०८२ बिहीबार

पार्टी एकतालाई एकढिक्का बनाउन अध्यक्षद्वयलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक एकतालाई एकढिक्का बनाउन नेताहरूले अध्यक्षद्वयलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा नेताहरूले पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधान गर्न तथा पार्टीलाई अझै सुदृढ र एकताबद्ध बनाई विश्वासको सङ्कट अन्त्य गर्न सुझाव दिइएको जानकारी नेताहरूले दिनुभएको छ ।

स्थायी कमिटीका सदस्यहरूले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ताका लागि दिएको निवेदनको विषयमा आआफ्नो धारणा राख्नुभएको पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुुभयो । असार १३ गतेदेखि जारी बैठकमा नयाँ नक्सा तथा सीमा विवाद, एमसीसी, पार्टी तथा सरकारको समीक्षा लगायत कार्यसूची प्रस्तुत गरिएको थियो ।

तर, असार १४ गते प्रधानमन्त्री ओलीले मदन जयन्तीका अवसरमा सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका केही नेताको संलग्नता रहेको र दुई दिनअघि निर्वाचन आयोगमा दर्ताका लागि आवेदन परेको भनिएको नेकपा (एमाले)को सम्बन्धमा छलफलले बैठकमा प्रवेश पाएको छ ।
मङ्गलबार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसहित १८ जनाले त्यस विषयमा आआफ्नो धारणा राख्नुभएको थियो । त्यही विषयमा बुधबार स्थायी कमिटी सदस्य योगेश भट्टराई, लीलामणि पोखरेल, मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र आमन्त्रित सदस्य पेशलकुमार खतिवडाले आआफ्नो दृष्टिकोण राख्नुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका नेता भट्टराईले पार्टी एकतालाई बलियो बनाउन दुवै अध्यक्ष मिलेर जानुको विकल्प नरहेको बताउनुभयो । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बैठकमा बोल्ने पाँच जनामध्ये कसैले पनि प्रधानमन्त्रीको राजीनामा नमागेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै जनाले प्रधानमन्त्री ओलीलाई निकास दिन आग्रह गर्नुभएको छ । पार्टी र सरकारमा जे समस्या भएको हो, त्यसको जिम्मेवारी लिएर उहाँले समस्याको समाधान दिनुपर्छ ।”  

प्रकाशित मिति : असार १८, २०७७ बिहीबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]