बैशाख १३, २०८१ बिहीबार

गौरादह कृषि क्याम्पसका विधार्थीको ‘लिफ आर्ट’ देशभर चर्चामा

झापा । गौरादह कृषि क्याम्पसमा अध्ययनरत विराज भण्डारीको कलाले देशभर चर्चा कमाएको छ । उनले केहि समययता पातमा गर्दै आएको कलाकारिताले चर्चा पाएको हो । ‘लिफ आर्ट’ मार्फत देशका प्रधानमन्त्रीदेखि संसारका चर्चित व्यक्तिलाई पत्तामै उतारेका छन् ।

जुम्लाका घर भएका युवा विराज भण्डारीले पातमा बनाएका ‘स्केच’ अर्थात् ‘लिफ आर्ट’ ले अहिले सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ । चन्दननाथ नगरपालिका–२ का भण्डारीले बनाएका ‘लिफ आर्ट’ अहिले फेसबुक, इन्स्टाग्राम, टिकटक र ट्वीटरजस्ता सामाजिक सञ्जालहरूमा भाइरल भएका हुन् ।

विगतमा पेन्सिलले स्केचहरू बनाउने भण्डारी अहिले पातमा विभिन्न आकृति सिर्जना गर्न थालेका छन् । ‘पहिला पेन्सिल स्केचहरू बनाउँथेँ । एक दिन एउटा बुद्धको लिफ आर्ट बनाएको भिडियो हेरेँ, कसरी बनाउँछन् जस्तो लागेको थियो । मैले घरमा पहिलो पटक पातमा नेपालको नक्सा बनाएँ । बुवाआमा चकित पर्नुभयो । मलाई थप हौसला मिल्यो, बनाउँदै गएँ । सबैले राम्रो भनेर हौसला र तारिफ गर्नुभयो’ उनले सुनाए । अहिले यो आर्टबारे धेरैबाट राम्रो प्रतिक्रिया पाएको भन्दै भण्डारीले अरु आर्ट गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हौसाएको बताए ।

उनले केही दिन अघि मात्रै जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालगायत केही जनप्रतिनिधिको पातमा स्केच बनाएर उपहार दिएको सम्झँदै भने, ‘मैले प्रजिअलगायत केही जनप्रतिनिधिको स्केच बनाएपछि मेरो कलाको प्रशंसा गर्दै सबैले सद्भाव देखाउनु भएको छ ।’ उनले रहरमा गरिएको कामलाई अब व्यावसायिक बनाउने सोचमा रहेको बताए ।

उनले अहिलेसम्म पिपल, ओखर र अंगुरको पातमा स्केचहरू बनाउँदै आएका छन् । जुम्लाका स्थायी बासिन्दा भण्डारी झापामा अध्ययन गर्दै अनेरास्ववियूमा राजनीति समेत गर्छन् । उनी विधार्थी नेता पनि हुन् ।

यतिबेला भने उनी लकडाउनले गर्दा जुम्लामा छन् । ‘घरमा बस्दा लिफ आर्ट बनाउने प्रयास गरेँ, ठिकै भयो । अहिले उत्साहित छु,’ उनले भने । भण्डारीले जनावर, चराचुरुङ्गी, नक्सा, चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, कलाकार, राजनीतिज्ञलगायतको स्केच बनाइसकेका छन् । उनले लिफ आर्ट हेर्दा धेरै आकर्षक देखिए पनि यसलाई बनाउन र सुरक्षित राख्न भने निकै गाह्रो हुने बताए ।

प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]