चैत्र ६, २०८० मंगलबार

भद्रपुरमा तीन महिनामै उप्कियो कालोपत्र

बिर्तामोड — भद्रपुर नगरपालिका–९ र १० नम्बर जोड्ने सडकको कालोपत्र निर्माण गरेको तीन महिना नहुँदै भत्किएको छ । चारआली–चन्द्रगढी सडकखण्डदेखि पश्चिम देउनिया पुल छेउसम्मको सडकअन्तर्गत करिब एक किलोमिटर कालोपत्र भत्किएको हो । इलामको गजुरमुखी निर्माण कम्पनीले कालोपत्र गरेको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले ठेक्का लगाएको उक्त सडक ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकाले निर्माण सम्पन्न भएको तीन महिनामै कालोपत्र भत्किएको स्थानीय रमेश न्यौपानेको आरोप छ । चन्द्रगढी सामुदायिक वनको कार्यालयदेखि पश्चिम चन्द्रगढ हुँदै देउनिया पुलसम्म उक्त सडकको लम्बाइ ४ किलोमिटर छ । गत चैतमा सडक कालोपत्र सकेको निर्माण कम्पनीका तर्फबाट साइड इन्चार्ज प्रकाश कडरियाले जानकारी दिए ।

सांकेतिक तस्वीर

‘सडक जेठ अन्तिमदेखि भत्किन सुरु भएको हो,’ स्थानीय सन्तोष भण्डारीले भने, ‘एकरदुई ठाउँ मात्र होइन, एक किलोमिटर जति कालोपत्र कामै नलाग्ने गरी भत्किएको छ ।’ सरोकारवाला निकायले अनुगमन र परीक्षण नगर्दा ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेको उनको आरोप छ । ‘गुणस्तरीय भएको भए निर्माण गरेको दुई महिनामै कसरी भत्किन्छ रु त्यो पनि एकरदुई ठाउँमा होइन, एक किलोमिटर लामो सडक कामै नलाग्ने गरी भत्किएको छ,’ उनले भने ।

सडकको गुणस्तरबारे पटकपटक कुरा उठाए पनि कसैले वास्ता नगरेको भीम खतिवडाले बताए । ‘ठेकेदारका मान्छे र काम गर्नेहरुलाई सडक राम्रो बनेन भनेर हामीले सुरुदेखि नै भन्दै आएका थियौं । तर उहाँहरुले हाम्रो कुरालाई वास्तै गर्नुभएन,’ उनले भने, ‘उल्टै, सघन सहरीबाट जस्तो बनाउन भनिएको छ हामीले त्यस्तै सडक बनाएको भनेर ठेकेदारका मान्छेले हामीलाई जवाफ फर्काए ।’

गजुरमुखी निर्माण कम्पनीले सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत भद्रपुर नगरपालिकाभित्र ३१ किलोमिटर सडक र २ किलोमिटर पक्की नाला निर्माणको ठेक्का पाएको छ । उक्त ठेक्का ६५ करोड रुपैयाँमा लिएको निर्माण कम्पनीका कडरियाले जानकारी दिए । ०७४ असार २० मा २४ महिनामा निर्माण सम्पन्न गर्नेगरी पाएको ठेक्का अझै सकिएको छैन । पहिलो पटक ७ महिना थप गरिएको म्याद गुजारेको निर्माण कम्पनीले दोस्रो पटक म्याद थपको प्रक्रिया अघि बढाएको सघन सहरीका इन्जिनियर विनोद मिश्र बताउँछन् ।

सडक निर्माणलगत्तै पानी परेको र १० चक्के टिपर कुदेकाले कालोपत्र चाँडै भत्किएको कडरियाको दाबी छ । नयाँ ट्र्याकमा ग्राभेल र कालोपत्र सँगै गर्नुपरेकाले सडक भत्किएको उनको भनाइ छ । भत्किएको सडक तत्काल निर्माण गरिने उनले जानकारी दिए । ‘भत्किएको स्थानको कालोपत्र हटाएर गिटी झारिसकेका छौं । बर्खापछि फेरि कालोपत्र गर्छौं,’ उनले भने । सघन सहरी कार्यालयका साइड इन्जिनियर मिश्रले पनि क्षमताभन्दा बढी लोडसहितका गाडी चलेकाले कालोपत्र भत्किएको प्रस्ट्याए ।

सडक भत्किएकोबारे निर्माण कम्पनीको ध्यानाकर्षण गराइसकिएकाले बर्खापछि पुनः कालोपत्र गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : असार २७, २०७७ शनिबार  १ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]