बैशाख २८, २०८२ आईतबार

भारतबाट आउने कम भएसँगै सङ्क्रमण दर घट्यो

धनगढी, असार २७ गते । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दरमा कमी आएको छ । भारतबाट फर्किनेको सङ्ख्या कम भएको र क्वारेन्टाइनमा पनि मान्छेको चाप घटेकाले नयाँ सङ्क्रमण दरमा कमी आएको हो ।

भारतबाट फर्किनेहरुको लर्को लागेको बेला यो प्रदेशमा कोरोना सङ्क्रमण दर उच्च बनेको थियो । जेठ अन्तिमदेखि असार तेस्रो सातासम्म नयाँ सङ्क्रमितको सङ्ख्या झनै बढेको थियो । बाह्य मुलुकबाट आउनेको सङ्ख्या घटेसंगै नयाँ सङ्क्रमण दर पनि कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।

‘अहिले मुलुकभन्दा बाहिरबाट आउनेको सङ्ख्या घटेको छ’, उहाँले भन्नुभयो । ‘क्वारेन्टाइनमा पनि मान्छेको चाप घटेकाले नयाँ सङ्क्रमित फेला पर्नेक्रम कम भएको हो ।’

मुलुकभन्दा बाहिरबाट आउनेको चाप घटेसंगै स्वाब सङ्कलनमा पनि कमी आएको छ । यद्यपि, ‘कन्ट्याक्ट टे«सिङ’ भएका र शङ्कास्पद् व्यक्तिको स्वाब सङ्कलन र परीक्षण भने भइरहेको छ । तर, भारतबाट आउने व्यक्तिको स्वाब सङ्कलन र परीक्षणमा कमी आएको अवस्थीले बताउनुभयो ।
‘अब बाहिरबाट आएका व्यक्तिको परीक्षण लगभग सकिएको छ’, उहाँले भन्नुभयो । ‘तत्काल सबै जनताको परीक्षण गर्ने भने तयारी छैन ।’

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको रिपोर्ट अनुसार शुक्रबार २४१ स्वाब नमूना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यसैगरी, पछिल्लो एक सातामा एक हजार ४०८ नमूना परीक्षण गर्दा १४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको शुक्रबारको तथ्याङ्क अनुसार यो प्रदेशमा सङ्क्रमितको जम्मा सङ्ख्या तीन हजार ७७५ रहेको छ । जसमध्ये सोही दिनसम्म गरी एक हजार २६७ जना निको भएर घर फर्किसकेका छन् । अब दुई हजार ५०८ जनामात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।
कोभिड–१९ को कारण हालसम्म यो प्रदेशका सात जनाको ज्यान गएको छ । पाँच जनाको सुदूरपश्चिम प्रदेशमै र दुई जनाको अन्य प्रदेशमा ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।

जिल्लागत सङ्क्रमित
सुदूरपश्चिमको कैलालीमा सबैभन्दा बढी ९९४ जनालाई कोराना सङ्क्रमण भएको छ । गौरीफन्टा नाका भएर भारतबाट फर्किनेहरु सबैभन्दा पहिले कैलालीमा प्रवेश गरेका थिए ।
यसैगरी, अछामका ५९२, डोटीका ५३५, बाजुराका ४५६ कञ्चनपुरका ४४३, बैतडीका २९३ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यस्तै, डडेल्धुरामा २६९, बझाङमा १५९ र दार्चुलामा १९ जनालाई कोरोना सङ्क्रमण भएको जनाइएको छ ।
सक्रीय सङ्क्रमितमध्ये ८० जना विभिन्न जिल्लाको अस्पतालमा र बाँकी स्थानीय तहको आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, प्रदेशभरि गरेर क्वारेन्टाइनमा चार हजार ८३४ जना रहेका छन् ।

हालसम्म परीक्षण
यो प्रदेशमा कोरोना पुष्टिका लागि पीसीआर र आरडीटी दुवै विधिबाट गरी हालसम्म एक लाख ४३ हजार ३३३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
जसमध्ये, पीसीआर विधिबाट परीक्षणका लागि २६ हजार ५३७ स्वाब नमूना सङ्कलन गरिएकोमा हालसम्म २५ हजार ६८० नमूना परीक्षण भइसकेको छ । ८५७ नमूनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, आरडीटी विधिबाट एक लाख १७ हजार ६५३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म सङ्क्रमण पुष्टि भएका व्यक्तिमध्ये एक जना बाहेक बाँकी सबै व्यक्तिको ‘ट्राभल हिस्ट्री’ बाहिरबाट आएको रहेको छ । जसमध्ये भारतबाट फर्केर आएका सबैभन्दा बढी रहेका छन् । ‘यो प्रदेशमा धनगढी एक महिलालाई सरेको बाहेक कोरोना समुदायमा सरेको छैन’, अवस्थीले भन्नुभयो । ‘सङ्क्रमित सबै बाहिरबाट आएका थिए ।’

प्रकाशित मिति : असार २७, २०७७ शनिबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]