बैशाख १७, २०८१ सोमबार

झापा प्रहरीको वार्षिक समीक्षा : नागरिकमा चेतना बढ्यो, अपराध घट्यो

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले विगत वर्षभन्दा ०७६/७७ मा गरेका काम कारवाहीमा प्रगति गरेको जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय झापाले वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हो ।

झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले मुद्दा दर्ता, भौगोलिक क्षेत्र अनुसार मुद्धा दर्ता, आत्महत्या सम्बन्धि घटना, यौनजन्य सम्बन्धि अपराध, लागु औषध सम्बन्धि अपराध, ठाडो उजुरी, अवैध चोरी तस्करी नियन्त्रण, महिला, बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, नगरपालिका तथा गाँउपालिकाको न्यायिक समितिमा परेका उजुरीको विवरण, सवारी दुर्घटना तथा ट्राफिक व्यवस्थापन र फैसला कार्यान्वयनका बारेमा अघिल्लो वर्षसहितका विवरणका आधारमा समीक्षा गरेका थिए । उनले आर्थिक वर्ष ०७६/७७ मा प्रगति भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले तीन वर्षमा ४ हजार ३ सय २१ वटा मुद्दा दर्ता भएको जानकारी दिए । तीन वर्षको तथ्याङकमा गएको आ.व मा मुद्दा दर्ताको संख्या घटेको छ । कोभिड–१९ को रोकथाम तथा न्यूनिकरणको लागि भएको लकडाउन, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालन गरिएका सचेतनामुलक कार्यक्रम, अपराध नियन्त्रणमा भएको प्रहरी नागरिक सहकार्य, सघन गस्ती,चेकजाँच, मानसिको चेतनाको स्तरमा बृद्धि, प्रहरीको सक्रियता आदिका कारण मुर्दा दर्ताको संख्या घट्दै गएको कोइरालाको भनाई छ ।

आत्महत्या घट्यो
जिल्ला प्रहरी कार्यालय झापाले तीन वटा आर्थिक वर्षको आत्महत्याको पनि विष्लेशण गरेको छ । आ.व ०७४/७५ मा २४७ जनाले आत्महत्या गरेको उल्लेख गरिएको छ । ०७५/७६ मा २८८ र ०७६/७७ मा २२३ जनाले आत्महत्या गरेका छन् । ०७५/७६ को तुलनामा ०७६/७७ मा २३ प्रतिशतले आत्महत्याको घटना कम भएको छ । जिल्लाभरका आत्महत्यामा घटना ६५ प्रतिशत नगरपालिका र ३५ प्रतिशत गाउँपालिकामा भएको छ । त्यसमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या २ सय छ । आत्महत्या गर्नेहरु १८ देखि २५ वर्ष उमेर समूहमा सबैभन्दा धेरै छन् । त्यसमा पनि ५९ प्रतिशत पुरुष छन् । तथ्याङक अनुसार सबैभन्दा धेरै घरायसी समस्याका कारण आत्महत्या गरेको प्रहरी जनाएको छ ।

झापा प्रहरीले यौनजन्य अपराध, लागुऔषध, भन्सार छली निकासी, चोरी पैठारी नियन्त्रण, समुदाय प्रहरी साझेदारी कार्यक्रम, फैसला कार्यान्वय लगायतमा गरेको काम कारवाहीको विष्लेशषण गरेको छ । सबै क्षेत्रमा प्रहरीले पछिल्लो समय सुधार गर्दै आएको विवरणमा देखिएको छ ।
झापा प्रहरीले ०७६/७७ मा जम्मा ९० जना फरार अभियुक्तलाई पक्राउ गरेको उपरीक्षक कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार  ३ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]