सोमबारदेखि विराटनगरमा पनि निषेधाज्ञा
काठमाडाैं : विराटनगर महानगरपालिकाले कोरोनाको जोखिम बढेसँगै महानगरपालिकाभित्र निषेधाज्ञा गरेको छ। महानगरपालिकाले सूचना जारी गरी भोलि सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा गर्ने जानकारी दिएको हो।

महानगरपालिकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। स्वास्थ्य क्षेत्र, वारुणयन्त्र, सरसफाई र एम्बुलेन्स सेवाबाहेक अन्य सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै भोलिदेखि नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान हुने सेवासमेत प्रभावित हुने महानगरले जनाएको छ। महानगरले साउन १२ गतेदेखि अर्को सूचना प्रवाह नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।
हाल विराटनगर महानगरका ३७ जना कोरोना संक्रमित भएका छन्। यीमध्ये ७ जना उपचाररत छन्। महानगरले बन्दका कारण पर्न जाने असुविधा प्रति क्षमा पनि मागेको छ। यस्तै, कोरोनाका कारण एकै दिन दुई जनासम्मको मृत्यु हुन थालेपछि पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा शनिबारबाट अनिश्चित कालका लागि निषेधाज्ञा लगाइएको छ। शुक्रबार जिल्ला संकट व्यवस्थापन केन्द्रको पहलमा सर्वदलीय बैठक बसी शनिबार बिहानैबाट निषेधाज्ञा लगाइएको हो। निषेधाज्ञाका कारण सर्वसाधारण आदेश पालना गरेर आर्थिक नगरी वीरगन्जको मेन रोड, नयाँ बसपार्क, घण्टाघर, माईस्थान, आदर्शनगर, मकालु चोक, पशुपति घोष चोक जस्ता चोकमा निस्केका छैनन्।