झापाको विर्तामोड क्षेत्रबाट ब्राउन सुगरसहित ५ जना पक्राउ
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिषेश सुचनाको आधारमा झापाको दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित त्यसको कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालका अनुसार कनकाई नगरपालिका–४ इलुवाबारीबाट सोही स्थानमा घर भएका सञ्जय पोखरेल, सोही नगरपालिकाको वडा नम्बर ५ मा घर भएका जिवन तिखत्री, पंकज उप्रेती, वडा नम्बर ३ का फियाज हुसेनलाई पक्राउ गरिएको छ । डिएसपी रिजालले उनीहरुको साथबाट १२ ग्राम ब्राउनसुगर फेला परेकोे जानकारी दिनुभयो ।
यसैगरी, अर्जुनधारा नगरपालिका–६ मा डेरा गरेर बस्ने निकेश राईलाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिनुभयो । उहाँले राईको साथबाट नगद ८७ हजार ५०० र बिभिन्न कम्पनीको ६ थान मोवाईल बरामद गरिएको समेत बताउनुभयो । पक्राउ परेकामाथि अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २५ ग्राम सम्म ब्राउनसुगर बरामद गरिएको खण्डमा अभियुक्तमाथि ५ देखि १० बर्षसम्म कैद सजाय र ५ देखि २५ हजार रुपैंयाँसम्म जरिवाना गरिने प्रावधान छ । लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा १४ को खण्ड ६ मा २५ ग्रामदेखि १०० ग्रामसम्म ब्राउन सुगर बरामद भएको अवस्थामा १० देखि १५ बर्षसम्म कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना तथा त्यो भन्दा बढी लागुऔषध भेटिए १५ बर्षदेखि जन्मकैद र ५ देखि २५ लाखसम्म जरिवाना हुने प्रावधान छ ।
यो समेत गरेर लकडाउन शुरु भएपछि अनारमनी प्रहरीले ३४ ग्राम ब्राउन सुगर सहित ७ जनालाई पक्राउ गरेको जनाएको छ । झापाको बिर्तामोड क्षेत्रमा अन्य स्थानको भन्दा धेरै परिणाममा ब्राउनसुगरको कारोबार हुने गरेको समेत प्रहरीको भनाई छ ।