चैत्र १५, २०८० बिहीबार

फेरि लकडाउन गर्ने सरकारको तयारी

झापा । कोभिड-१९ को संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ।

पछिल्लो समय कोभिड-१९ का बिरामी बढ्दै गएको र परिस्थिति काबुबाहिर गए लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए।

‘हालसम्म लकडाउनको तयारी छैन तर परिस्थिति भड्कियो भने जुनसुकै बेला हुनसक्छ,’स्वास्थ्य मन्त्री ढकालले भने,’पहिला हामीले खुकुलो गर्दा पनि पछि प्रतिकूल अवस्था भयो भने यो भन्दा कडा लकडाउनको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ भनेर भनेकै छौं।’

वीरगञ्ज लगायतका ठाउँहरूको घटनाले संवेदनशील बनाइरहेको समेत उनले बताए।

‘आवतजावत र क्वारेन्टिनको मामिलामा एउटा अनुशासन नअपनाउने हो भने अलि गाह्रो होला कि जस्तो भइरहेको छ,’उनले भने,’परिस्थिति यसरी नै बढ्दै गयो भने नियन्त्रणका लागि लकडाउन पनि एउटा उपाय हो तर त्यो मात्रै त भएन। अरु उपाय पनि अवलम्बन गर्छौं। सँगै यसलाई पनि अलि व्यवस्थित गर्नुपर्छ। अहिलसम्म ठीकै छ।’

उनले वीरगंजमा अलि परिस्थिति भड्केला कि जस्तो भएको र पोजेटिभहरूको संख्या पनि धेरै भएकाले अस्पतालको खोजी भइरहेको समेत बताए।

उनले चिकित्सकहरूको एउटा टोली पठाएको र त्यहाँको परिस्थितिबारे छलफल भइरहेको जनाए ।

शुक्रबारमात्रै १० हजार ७ सय ८६ को पिसिआर परीक्षण गरिएको भन्दै मन्त्री ढकालले सरकारले अन्य तयारी पनि गरिरहेको दाबी गरे।

उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्टले परिस्थिति अनुसार ठाउँ विशेषमा सिल गर्न सकिने बताए।

‘उपत्यकामा विशेषगरी कोभिड-१९ का बिरामी बढ्नेजस्तो संकेत देखिएको छ। त्यसलाई कसरी नियन्त्रण गर्ने समुदायमा फैलिन नदिन के गर्ने भन्ने सिसिएमसीमा पनि छलफल भएको थियो। पर्सिको मन्त्रिपरिषदमा पनि छलफल होला,’उनले भने,’पिसिआरको मात्रा पनि बढाइएको छ। संक्रमणका आधारमा कुनै एरिया सिलबन्दी गर्न सकिन्छ।’

सिसिएमसीले अहिले नै लकडाउन गर्ने बेला नभएको भन्दै मानिसको आवतजावतमा भने कडाइ गर्ने निष्कर्ष निकालेको छ।

‘बाहिरबाट मान्छेहरू ल्याउन खोज्ने र आउने पनि आउन खोज्ने प्रवृत्ति बढी देखिएको छ,’सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले सेतोपाटीसँग भने,’यातायातमा अलि कडाइ हुन्छ होला। निजी गाडीमा मान्छे ओसार्ने काम भइरहेको छ। यसलाई समेत अब कडाइ गर्नुपर्छ।’

सचिव गुरागाईंका अनुसार संक्रमणको जोखिम भएका ठाउँहरूबाट अत्यावश्यक भएमामात्रै काठमाडौं आउन दिइनेछ भने सामान्य ठाउँबाट आउनेहरूले पनि व्यक्तिगत पास लिएर आउनुपर्नेछ।

‘अति जरुरी भएर नआई नहुनेलाई प्रशासनले हेरेर मात्रै गर्ने भन्ने भएको छ,’एसएमएस'(स्यानिटाइजर,मास्क र सोसल डिस्टेन्स)को प्रयोगलाई पालना गरेमा लकडाउन गर्न पर्दैन भन्ने छ,’उनले भने,’अत्यावश्यक काम नपरी घरबाट निनस्किने र भीडभाडमा नजानका लागि जनता आफैं सचेत बनुन् भन्ने सरकारको चाहना हो।’

बाहिरबाट आउन कडाइ गर्ने र काठमाडौंमा परीक्षणलाई बढाउने हो भने पूर्ण रूपमा बन्द गर्न जरूरी नरहेको समेत सिसिएमसीको ठहर छ।

‘७,८ दिन कडा गरेर हेर्ने हो भने पूरै बन्द गर्न पर्दैन भन्ने निष्कर्ष छ। बाहिरबाट मान्छेहरू नआएपछि त यहाँभित्र आएर भएकाहरूलाई त महानगरको सहयोगमा स्वाब संकलन गर्न सकिन्छ,’सिसिएमसी स्रोतले भन्यो,’यहाँ भएकाहरू फिल्टर भएपछि धेरै समस्या हुँदैन। बाहिरबाट आउनेहरूमा कोभिड-१९ देखिएको छ। उनीहरूबाटै यहाँ पनि सरेको पाइएको छ। सरकारले नखोल्ने भनेका क्षेत्रहरू समेत खुलेका कारण समस्या आएको हो।’

गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौंमा आउनेहरूलाई कडाइ गर्न र एक जिल्लाबाट अर्को जिल्लामा जरूरी परेमा मात्रै जान दिन जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र पठाइसकिएको जानकारी दिए।

‘मास्क प्रयोग नगर्नेहरूलाई निरुत्साहित गर्ने,अनुगमन गर्ने,जरिवाना लगाउने भइरहेको छ भने एक जिल्लाबाट अर्को जिल्लामा जाने अनि बाहिरबाट काठमाडौं आउनेलाई कडाइ गरिएको छ,’उनले भने,’अत्यावश्यक कामबाहेक पास जारी नगर्नु भनको छ। जिल्लाभित्रको हकमा कहीँ निषेधाज्ञा नै जारी छ। जिल्लाहरूलाई अवस्था हेरेर लकडाउनको अधिकार दिइएको छ।’

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार  २ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]