बैशाख ७, २०८१ शुक्रबार

कोरोनाबाट भारतमा २५ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण यो साता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले भने, ‘अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँदिल्लीमा कार्यरत डा। सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या २५ पुगेको पुष्टि यो साता भएको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।’

यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा दुई जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै कोरोना संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ ।

शनिवार साँझसम्म नेपालका ५६ सहित विश्वभर २ सय ४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

लग्जेम्वर्गमा ३५ नेपाली संक्रमित

यसैगरी युरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् । एनआरएनए स्वास्थ्य समितिका अनुसार एक वैवाहिक वर्षगाँठमा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ ।

एनआरएनएका अनुसार अहिलेसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।

यसैबीच नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ । शनिबारसम्म नेपालमा २० हजार ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार ४ सय ९२ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको संख्या ५८ जना रहेको छ ।

नेपालीलाई सचेत रहन आग्रह

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ । समितिले स्पेन, बेल्जियम, बेलायत, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ ।

समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भावना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा मानिसहरु भेला हुने अन्य स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । यसैबीच कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फकिएका गैरआवासीय नेपाली संघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]