झापामा सूचनाको हकको व्यवहारिक प्रयोग गर्दै युवा
बिर्तामोड । झापाका युवाहरु सूचनाको हक प्रयोग गरेर विभिन्न क्षेत्रमा सूचना माग गर्न थालेका छन् । संविधानले व्यवस्था गरेको मौलिक हक सूचनाको हक प्रयोग गर्दा अनिवार्य सूचना उपलब्ध गराउनु पर्ने व्यवस्था भएपछि युवाहरु सरोकारका क्षेत्रमा त्यसको प्रयोग गर्न थालेका हुन् ।
स्थानीय तहमा सूचना माग्न युवाहरुले सक्रिया देखाएका छन् । झापाको विर्तामोडस्थित प्रकृति फाउण्डेशनले सञ्चालन गरेको सूचनाको हक सम्बन्धि कार्यक्रमपछि युवाले व्यवहारिक प्रयोग शुरु गरेको फाउण्डेशनका अध्यक्ष मनोज ताम्लीले जानकारी दिए ।
सो कार्यक्रममा सहभागी भएका युवाहरुले आआफ्नो पालिकामा सूचना माग गरेर त्यहाँको पारदर्शिता खोज्ने प्रयास गरेका छन् । भद्रपुरका संजिव गिरीले भद्रपुर नगरपालिकामा सूचना माग गरेका छन् । उनले सूचनाको हक प्रयोग गरेर भद्रपुर– १० मा चन्द्रगडी मार्ग निर्माणको खर्च र निर्माण समितिको निर्णयहरु माग गरेको जानकारी दिए । बाटोको कुल बजेट, निकासा भएको बजेट सहित निर्णयहरु माग गरेका छन् ।
यस्तै, रोशन लामाले कचनकवलमा ०७६/७७ सवारी मर्मत र इन्धनमा छुट्याइएको बजेट , गाउँपालिकाका जनप्रतिनिधिर कर्मचारीले प्रयोग गर्ने सवारीको मर्मत र इन्धनको खर्च विवरण माग गरेका छन् । कृषिमा छुट्टाएको बजेटको विवरण र लाभग्राहीको विवरण माग गरेका छन् । उनले कृषिको बजेटको प्रभावकारिता अध्ययन गर्न सूचनाको हक प्रयोग गरेको बताए ।
कनकाई नगरपालिकामा सारिका गिरीले वडा नं. ६ मा आर्थिक् वर्ष ०७४/७५देखि हालसम्म बालबालिकाका लागि विनियोजन गरेको बजेट, खर्च गरेको विल भरपाई माग गरेकी छन् ।
गौरादहका विक्रम तिवारीले गौरादह कृषि क्याम्पसमा सूचनाको हक प्रयोग गरे । उनी सोहि क्याम्पसको विधार्थी हुन् । उनले क्याम्पसलाई प्राप्त भएको स्थानीय , प्रदेश र केन्द्र सरकारको अनुदान र खर्च विवरण माग गरेका थिए । उनले सो सूचना प्राप्त गरिसकेको बताएका छन् ।
फाउण्डेशनका अध्यक्ष मनोज ताम्लीले झापा गाउँपालिका र कृषि ज्ञान केन्द्रमा सूचना माग गरेका छन् । उनले दुवै निकायबाट अपूर्ण सूचना पाएका छन् । पूर्ण सूचना पाउँ भनि उनले थप प्रक्रिया शुरु गरेको जानकारी दिए ।
ताम्लीले ज्ञान केन्द्रसँग ०७५/७६ को कृषि यान्त्रिकण अनुदान कार्यक्रम अन्तर्गत झापा गाउँपालिकामा वितरण गरेको उपकरणको बजेट, लाभग्राहीको विवरण र अनुमानित रकमको विवरण मागेका थिए । गाउँपालिकासँग आ.व. २०७६/०७७ को भ्रमण खर्च, अध्ययन अनुसन्धान तथा अवलोकन कार्यक्रम खर्चका निम्ति विनियोजन भएको बजेट शिर्षक र बजेट, भ्रमण आदेश पत्र, भ्रमणमा भएको खर्चको बिल भर्पाइको प्रतिलिपी, भ्रमण पछिको उपलब्धी विवरण ।
आर्थिक वर्ष २०७६/७७ को विविध खर्च विनियोजन भएको बजेट शिर्षक, बजेट खर्चको बिल, भर्पाइको प्रतिलिपि , सवारी साधन मर्मत तथा इन्धन खर्च, विनियोजन भएको बजेट शिर्षक, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीले प्रयोग गर्ने सवारी साधनको मर्मत खर्च र इन्धन खर्चको बिल भरपाई, आ.व. २०७६/७७ को मसलन्ध तथा कार्यालय सामाग्रीका निम्ति विनियोजित भएको बजेट शिर्षक र बजेट खर्चको बिल भर्पाइको प्रतिलिपि माग गरेका थिए ।