संक्रमणमुक्त भएपछि मेची अस्पतालबाट १७ जना डिस्जार्ज
विर्तामोड । मेची अस्पताल भद्रपुरबाट शुक्रबार १७ जना कोरोना संक्रमितको डिस्चार्ज भएको छ । सङ्क्रमणमुक्त भएर उनीहरु डिस्चार्ज भएका हुन् ।
मेची अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलका अनुसार उक्त अस्पतालको आइसोलेसनमा भर्ना भएको करिब १० दिनमा गरिएको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरु झापाबासी हुन् ।
१८ जनाको रिपोर्ट नेगेटिभ आए पनि १० वर्षीय बालिकाको अझै पनि पोजिटिभ रिपोर्ट आएकाले १७ जनालाई मात्र डिस्चार्ज दिइएको डा. कँडेलले जानकारी दिए । मेची अस्पतालमा २२ जनाको क्षमता भएको आइसोलसनमा अब पाँचजना सङ्क्रमित उपचाररत् छन् । उनीहरुको सुरक्षित उपचार भइरहेको अस्पतालले जनाएको छ । केहि दिनमै मेची अस्पतालले नयाँ भवनमा औसोलेशन राख्ने तयारी गरेको छ ।