बैशाख २६, २०८२ शुक्रबार

मोहनमाया माविको जग्गा स्कुललाई उपलब्ध गराउने सरकारको निर्णय

झापा । महान्यायाधिवक्ता अग्नि खरेलको पहलमा विर्तामोड २ को मोहनमाया माविको जग्गा सरकारले स्कुलका लागि नै उपलब्ध गराउने भएको छ ।

स्थानीय भुपालमानसिंह कार्कीले मोहनमाया माविलाई २०३१ सालमा उपलब्ध गराएको जग्गा स्कुलकै भोगचलनमा भए पनि स्कुललाई पास नगरिदिएकाले २०७० सालमा भुपालमानका छोरा जगतबन्धु कार्कीले जिल्ला अदालत झापामा मुद्धा हालेका थिए ।

सो मुद्धा सर्वोच्च अदालतसम्म पुग्दा कार्की परिवारले जितेपछि सरकारले जग्गाप्राप्ति ऐन २०३४ अनुसार मोहनमाया माविका लागि प्राप्त गर्ने निर्णय गरेको हो । हाल जगतबन्धु कार्कीको निधन भएको छ भने सो जग्गा उनकी श्रीमती अञ्जु कार्कीको नाममा रहेको छ ।

‘झापाको विर्तामोडका दुईवटा जग्गा सार्वजनिक प्रयोजनका हुन्’, महान्याधिवक्ता अग्नि खरेलले भन्नुभयो, ‘मोहनमाया माविको जग्गा, जग्गा प्राप्ति ऐन २०३४ अनुसार प्राप्त गर्ने निर्णय भएको छ । अब डोमालाल राजवंशी रंगशालाको जग्गामध्ये केही जग्गा व्यक्तिले आफ्नो नाममा पारेको विषय छ, त्यसका लागि पनि आवश्यक निर्णयका लागि पहल गर्छु ।’ उहाँले डोमालाल रंगशालाको जग्गा बारे केही छलफलपछि आवश्यक निर्णयमा पुगिने बताउनु भएको छ ।

महान्यायाधिवक्ता खरेलको पहलमा नेपाल सरकारले २०७७ साउन २६ गते गरेको निर्णयमा भनिएको छ, ‘झापा जिल्ला विर्तामोड नगरपालिका वडा नम्वर २ स्थित श्री मोहनमाया माविको भवन रहेको कित्ता नम्वर ६९३ को जग्गा ७ कठ्ठा ५ धुर र कित्ता नम्वर १८६५ को १३ कठ्ठा साढेपाँच धुर जग्गा, जग्गा प्राप्ति ऐन २०३४ बमोजिम सो विधालयका नाममा प्राप्त गर्ने कार्वाही अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय झापालाई स्वीकृति दिने ।’

‘स्कुलको जग्गा प्राप्त गर्ने विषयमा महान्याधिवक्ता अग्नि खरेलले धेरै पहल गर्नुभयो’, मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले भन्नुभयो, ‘महान्यायाधिवक्ताले काठमाडौं बोलाएर शिक्षा मन्त्रीसँग भेट गराएर मन्त्रिपरिषदमा प्रस्ताव लाने र प्रधानमन्त्रीलाई भनेर निर्णय गराउने काम गर्नुभयो । हामी स्कुलसँग प्रत्यक्ष जोडिएका एक हजार पाँच सय घरपरिवार उहाँलाई धन्यवाद दिन चाहन्छौं ।’ प्रधानाध्यापक श्रेष्ठले थप्नुभयो, ‘स्कुलको जग्गा प्राप्तिका लागि सहयोग गर्ने सबैलाई धन्यवाद छ ।

प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]