बिर्तामोडमा १८९ बेरोजगारलाई रोजगारको अवसर
बिर्तामोड । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बिर्तामोड नगरमा १ सय ८९ जनाले रोजगारी पाउने भएका छन् ।
सो कार्यक्रम संयोजक होमनाथ भट्टराईका अनुसार बिर्तामोड नगरपालिकामा आज आयोजित एक कार्यक्रमकाबीच बेरोजगारहरुलाई रोजगारीका लागि अभिमूखिकरण प्रदान गरिएको छ ।
अभिमूखिकरणमा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिबाकोटीले सरकारले ल्याएको नयाँ कार्यक्रमले बेरोजगारलाई रोजगार मात्र बनाउने नभई आफ्नो नगर सुन्दर बनाउन उत्प्रेरणा पनि जगाउने बताए ।
कार्यक्रम अनुसार असार १ गतेदेखि १ महिनासम्म ती १ सय ८९ जनाले नगरका १० वटै वडामा आवश्यकता अनुसारका काम गर्नेछन् । त्यसका लागि वडाहरुले आआफ्ना कामका क्षेत्र निर्धारण गरिसकेका छन् । यस अन्तरगत प्रत्येकले दैनिक ५ सय १७ रुपैयाँ पारिश्रमिक पाउने छन् ।