चैत्र १५, २०८० बिहीबार

भुसको आगोसरि फैलिदै दमकमा कोरोना , आजै थपिए १६ संक्रमित

दमक – कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले लकडाउन गरे पनि दमक नगरपालिकामा संक्रमण भुसको आगोसरि फैलिएको छ। क्वारेन्टाइनमा रहेका व्यक्तिमा मात्र नभई समुदाय स्तरमा संक्रमणको दर बढेको हो। शनिबार मात्र दमकमा १६ जनामा संक्रमण पुष्टि भएको छ।

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार संक्रमण पुष्टि भएकामध्ये एक जना औषधि व्यवासायी हुन्।  औषधि व्यवसायीले दैनिक सयौं व्यक्तिसँग सम्पर्क गर्ने भएकाले कन्ट्याक ट्रेसिङ्मा चुनौती थपिएको छ । थपिएका संक्रमितमध्ये आठ जना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् भने बाँकी कन्ट्याक टे«सिङबाट नमूना संकलन गरिएका व्यक्ति हुन्। उनीहरु समुदायका व्यक्ति हुन्। विद्युत प्राधिकरण दमक वितरण केन्द्रका ६ जनामा एकैसाथ संक्रमण देखिएपछि समुदाय स्तरमा संक्रमणको रफ्दार बढेको हो। यसरी लगातार संक्रमित भेटिने क्रम बढेपछि गत शनिबारदेखिनै दमकमा लकडाउन गरिएको छ। तर, संक्रमण देखिने क्रम झनै बढेको छ। अझै यसअघि पठाइएका १४ नमूनाको रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य निरीक्षक बरालले जानकारी दिए।

१९ जना फर्किए

दमकमा हालसम्म ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ। तीमध्ये १९ जना उपचारपछि घर फर्किएको नगरपालिका क्वारेनटाइन व्यवस्थापनमा समेत खटिएका स्वास्थ्यकर्मी कुबेर भट्टराईले जानकारी दिए। यस्तै, थप २०० जनाको स्वाव संकलन गरिएको छ। त्यसको परीक्षणका लागि प्रयोगशाला पठाउने तयारी भइरहेको छ। सडक र बजार सुनसान पहिलो पटक चैत ११ मा संघीय सरकारले घोषणा गरेको लकडाउनको समयभन्दा अहिले स्थानीय स्तरले गरेको लकडाउन दमकमा कडा बनेको छ।

गत शनिबारअघि झापाकै अन्य स्थानीय तहमा कडाई भई रहँदा दमकमा बजार, पसल सञ्चालन भए भनेर सर्वसाधारणको गुनासो पनि आउने गरेको थियो। तर, नगरभित्रै संक्रमित भेटिने दर बढेसँगै स्थानीय सरकारले लागु गरेको यस पटकको लकडाउन कडा देखिएको छ। एक साता यता बजार, पसल सुनसान छन। मोटरसाइकल, सिटीसफारीजस्ता सवारी साधन समेत कम चलेका छन्। प्रशासन तथा जनप्रतिनिधीहरुको टोली समेत सतर्कताका साथ नियमित अनुगमनमा खटिएको नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले बताइन्। दमक उद्योग वाणिज्य संघले समेत संक्रमण दर उच्च भएकाले बजार पसल सञ्चालन नगर्न व्यवसायीलाई आग्रह गरेको छ।

अहिले संक्रमणको दर बढेको र समुदायका व्यक्तिहरु समेत संक्रमित हुने क्रम बढेकाले बजार पसल सञ्चालनमा हतार नगर्न आग्रह गरेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताएका छन्। 

प्रकाशित मिति : भाद्र ६, २०७७ शनिबार  २ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]