जातीय भेदभाव गर्दै दलितलाई कुटपिट गर्ने दम्पतीविरुद्ध उजुरी

बिर्तामोड । जातीय विभेदसहित कुटपिट गर्ने मेचीनगर–१३ चारआलीका एक दम्पतीविरुद्ध मुद्दा दर्ता भएको छ । जातीय भेदभाव गर्दै कुटपिट गरेको आरोपमा दुर्गा श्रेष्ठ र विष्णु प्रधानविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी परेको छ । उनीहरुविरुद्ध मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा दलित अधिकारकर्मी निर्मला परियारको अगुवाईमा उजुरी दर्ता भएको हो ।
उनीहरु पक्राउ समेत परेको र आजै जिल्ला अदालत झापाबाट म्याद थपको तयारी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले गएराति चारआलीमा डेरा गरी बस्ने चन्द्रकला लामगादे र सागर खातीलाई गालीगलौज गर्दै कुटपिट गरेका थिए । श्रेष्ठ दम्पतीले स्थानीय राजन दर्जीलाई जातीय रुपमा होच्याउँदै कुटपिट गरेपछि चन्द्रकलाले प्रतिकार गरेकी थिइन् । उनले यो समयमा जातभातको कुरा नगर्न आग्रह गर्दा उल्टै उनीमाथि श्रेष्ठ दम्पती जाई लागेका थिए । चन्द्रकला सात महिनाकी गर्भवती हुन् । उनी अहिले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत छिन् । उनको अवस्था सामान्य भए पनि गर्भमा रहेको शिशुको अवस्था नाजुक रहेको श्रीमान सागरले बताए ।
कुटपिटमा संलग्न दुर्गा नेपाली सेनाबाट सेवानिवृत्त भएका हुन् ।