बैशाख २९, २०८२ सोमबार

बिर्तामोडमा २५ बेडको नगर अस्पताल निर्माण सुरु

बिर्तामोड । अनारमनी स्वास्थ्य चौकीको हाताभित्र २५ बेडको बिर्तामोड नगर अस्पताल निर्माण सुरु भएको छ ।

बिर्तामोड नगरपालिकाको लगानीमा काठमाण्डौंको धुलिखेल निर्माण सेवा प्रा.लि.ले मूल्य अभिवृद्धि कर बाहेक ४ करोड ८० लाख ९५ हजार १८६ रुपैयामा नगर अस्पताल निर्माणको ठेक्का पाएको छ । गत असार ८ गते ठेक्का सम्झौता भएको अस्पताल भवनको काम ०७९ असार १ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको छ ।

झापाको बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणाधीन नगर अस्पतालको निर्माण कार्य गुणस्तरीय बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । भवन निर्माण अनुगमन समितिले आज (शुक्रबार) बिर्तामोड नगरपालिका, ३ नं. वडा कार्यालय र ठेकेदार कम्पनीलाई ज्ञापनपत्र बुझाउदै निर्माणाधीन अस्पतालको काम गुणस्तरीय बनाउन लिखित आग्रह गरेको छ ।

अनुगमन समितिको बैठकले अस्पतालको फाउण्डेसन निर्माणलाई बलियो बनाउन ज्ञापनपत्रमार्फत लिखित आग्रह गरेको हो । अनुगमन टोलीले आजै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपतिराज खतिवडा र इन्जिनियर गणेश अर्याल, ३ नम्बर वडाका सचिव भीम अधिकारी तथा ठेकेदार कम्पनीकातर्फबाट साइडमा खटिएका इन्जिनियरलाई ज्ञापनपत्र बुझाएको अनुगमन समितिका सदस्य अर्जुन राजवंशीले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै प्रशासकीय अधिकृत खतिवडाले तत्काल ठेकेदार कम्पनीसँग छलफल गरेर नगर अस्पतालको निर्माण कार्य गुणस्तरीय र बलियो बनाउने जानकारी दिए ।

प्रकाशित मिति : भाद्र १२, २०७७ शुक्रबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]