आर्सनललाई कम्युनिटी शिल्डको उपाधि
एजेन्सी । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो ।

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो । पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए ।
लिभरपुलका मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे । तर, युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।
पेनाल्टी अघि सुरुवाती अग्रता पनि आर्सनलले बनाएको थियो । खेलको १२ औं मिनेटमा आबुमियाङको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो ।
तर, खेलको ७३ औं मिनेटमामिनामिनोले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए । आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो ।
प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् । लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो । आर्सनलले एफए कप जितेको थियो । आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको थियो ।