बैशाख २९, २०८१ शनिबार

उडानको पूर्वतयारी गर्दै चन्द्रगढी विमानस्थल

झापा – कोभिड–१९ महामारीका कारण आन्तरिक उडान खुलेपछि पनि अवस्था सामान्य नहुने निष्कर्ष निकाल्दै झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले पूर्वतयारी सुरु गरेको छ । कार्यालयले आन्तरिक उडान खुलेपछि यात्रुलाई कोरोना जोखिमबाट जोगाउन सुरक्षाका लागि पूर्वतयारी सुरु गरेको हो ।  

कोरोना संक्रमणका कारण लामो समयदेखि विमानस्थल बन्द भएका वेला चन्द्रगढी विमानस्थलले मर्मतसँगै संक्रमण न्यूनीकरणको काम गरिरहेको छ । लामो समयको उडान रोकिएको अवस्थाको सदुपयोग गर्दै मर्मत र अब हुने उडानमा गर्नुपर्ने सुरक्षा र सतर्कता व्यवस्थाको काम गरिरहेको कार्यालयले जनाएको छ । 

सरकारले जुनसुकै वेला उडानको कार्य सुरु गर्ने निर्णय गर्न सक्ने भन्दै कोरोना संक्रमणको जोखिम कम गर्न भौतिक दूरीका लागि पहेँलो रङको चिह्न, टिकट काउन्टरमा प्रत्यक्ष सम्पर्क नहोस् भन्न सिसासहित पुराना संरचनाको मर्मत–सम्भार गरिएको कार्यालयका प्रमुख मुरारी पौडेलले जानकारी दिए । कुनै पनि वेला उडान गर्नुपर्दा संक्रमण सुरक्षाका लागि आवश्यक पूर्वतयारी पूरा गरेको कार्यालयले जानकारी दिएको छ ।

पौडेलले भने, ‘तत्काल महामारी अन्त्य हुने सम्भावना देखिँदैन । अब सधैँ उडान बन्द गरेर पनि नहोला । सरकारले जुनसुकै वेला पनि उडान सुरु गर्न निर्णय गर्न सक्ने हुनाले त्यसका लागि हामीले पूर्वतयारी गरेका हौँ । अब हामी जुनसुकै वेला उडान गर्न सक्ने अवस्थामा छौँ ।’

काउन्टर र बाहिरी भागमा एक मिटरको दूरी राखेको उनले बताए । भित्री भागमा खुला ठाउँ भएकोमा दुई मिटरसम्म राखेको उनको भनाइ छ । उनले भने, ‘प्रतीक्षालयमा पनि एउटा कुर्सीपछि अर्को एउटा हटाएर बीचमा ग्याप राखेका छौँ । जसले संक्रमण जोखिम कम गर्न सहयोग गरोस् भन्ने उद्देश्य हो ।’ यस्तै विमानस्थल प्रवेशद्वारमा हात धुनका लागि साबुनपानीको पनि व्यवस्थापन गरिएको उनको भनाइ छ ।  

यस्तै, उडान ठप्प भएको अवस्थामा चन्द्रगढी विमानस्थलले विमान्स्थल मर्मतको काम पनि धमाधम गरिरहेको छ । विमानस्थलको पश्चिम–उत्तर भागमा रहेको पुरानो घेराबारासमेत नयाँ बनाउने काम थालिएको छ । उडान बन्द हुँदा धावनमार्ग र कार्यालय प्रवेशमार्गको केही भागमा कालोपत्रे लगाउने कार्यसमेत भएको पौडेलले बताए । धावनमार्गछेउका नालीमा सफाइ गर्ने काम पनि भइरहेको उनले बताए । 

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]