बैशाख ११, २०८१ मंगलबार

सालाहको ह्याट्रिकमा लिभरपुलको जित

साविक विजेता लिभरपुलले नयाँ सिजनको प्रिमियर लिगको पहिलो खेलमै जित हात पार्न संघर्ष गर्नुपर्‍यो । शनिवार भएको रोमाञ्चक खेलमा मोहम्मद सालाहको ह्याट्रिक मद्दतमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४-३ ले पराजित गरेको हो ।

लिभरपुलको घरेलु मैदान एनफिलडमा भएको खेलको पहिलो हाफमै गोलको वर्षा भएको थियो । पहिलो हाफमा पाँच गोल भएको खेलको अन्तिम समयतिर सालाहले निर्णायक गोल गरेका थिए । सालाहले दुई गोल पेनाल्टीमा गरेका थिए ।

खेलको सुरुमै लिभरपुलले अग्रता लिएको थियो । सन् २००४ पछि पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको लिड्सले लिभरपुललाई सुरुवातदेखि नै चुनौती दिएको थियो ।

चौथो मिनेटमै सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । १२ मिनेटमा ज्याक ह्यारिसले लिड्सका लागि बराबरी गोल फर्काए । २०औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए । त्यसको दश मिनेटपछि प्याट्रिक बामफोर्डले लिड्सका लागि फेरि बराबरी गोल फर्काए । तर ३३औं मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुले ३-२ को अग्रता बनायो ।

३३ मिनेटपछि नै माटेउस क्लिसचले लिड्सका लागि बराबरी गोल फर्काउँदा खेल ३-३ को प्रतिस्पर्धात्मक अवस्थामा पुगेको थियो ।

खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला ८८औं मिनेटमा लिभरपुलले अर्को पेनाल्टी पायो । लिड्सका रोड्रिगोले फाबिन्होलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पायो जसमा सालाहले सहजै गोल गरे ।

प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]