बैशाख १५, २०८१ शनिबार

जसले चन्द्रगडी विमानस्थलको काँचुली फेरे

बिर्तामोड । चन्द्रगडी विमानस्थलका प्रमुख पुर्ण चुडालको सरुवा भएको छ । उनको त्रिभुवन अन्तरष्ट्रिय विमानस्थल अन्तर्गतको आन्तरिक टर्मिनल प्रमुखका रुपमा सरुवा भइसकेको छ । चन्द्रगडी विमानस्थलको कार्यालय प्रमुखका रुपमा ०७३ साउनमा झापा आएका चुडालले विमानस्थलको काँचुली फेरेर विदाई भए ।

चन्द्रगडी विमानस्थल ओर्लनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले खोज्ने पहिलो व्यक्ति विमानस्थलका प्रमुख पुर्ण चुडाल नै थिए । भेटमा प्रधानमन्त्री ओलीले विमानस्थलको अवस्थाबारे प्राय : जानकारी लिने गर्थे । विमानस्थलमा भएका सुधार र गर्नुपर्ने थप कामका बारेमा प्रधानमन्त्री ओलीको सधैं चासो रह्यो ।

काठमाडौंमा कार्यरत चुडाल गृह जिल्लामै काम गर्न आएपछि उनले आराम गरेरै जागिर खाने सोच बनाएका थिए । तर, आफ्नै जिल्लाको विमानस्थल लथालिङग देखेपछि चुडालले व्यापक सुधार गर्ने अठोटका साथ काम गर्ने सोच बनाए , काम थाले । चुडाल भन्छन्, आफ्नो जिल्लामा चुनौतिसँगै अवसर भएको महसुस भयो । काम थाल्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओेली, पर्यटनमन्त्रीहरु, राजनीतिक दलका प्रमुख, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल लगायतको सहयोगले काम गर्ने प्रेरणा मिलेको उनको भनाई छ ।

जिम्मेवारी सम्हालेर झापा आउँदा विमानस्थलको अवस्था नाजुक रहेको चुडालको अनुभव छ । जताततै विमानस्थलको आलोचना सुन्न थालेकापछि दिनरात नभनी काममा जुटेको उनको भनाई छ । चार वर्षको बसाईमा मैलै सन्तोषजनक काम गरे भन्ने लाग्छ, चडालले थपे– अहिले विमानस्थल देशकै नमूना छ । शुरुआतमा घासैघाँसले छोपेको विमानस्थललाई सुन्दर पार्कको रुपमा विकास गरेको सुनाए ।

चन्द्रगडी विमानस्थलको चौतर्फी सुधारमा अनवरुत क्रियाशिल रहेका चुडालले उडान सुरक्षा, यात्रुको सुविधा र सुरक्षा, भौतिक संरचना निर्माणसँगै प्रविधि जडानको निम्ति महत्वपूर्ण काम गरेको जिल्लावासीको भनाई छ । उनले शुरुआतमा ५ किमि भिजिविलिटीलाई प्रविधि प्रयोग गर्दै आइ.एफ.आर विधि मार्फत २२ मिटरबाटै भिजिविलिटी हुने गरी काम गरे । जसका कारण झापाको उडान रद्द दर नै घट्यो । मौसम प्रतिकुलतामा अधिकांश उडान रद्द गर्नुपर्ने बाध्यतालाई उनले सधैका लागि अन्त्य गरे ।

प्रमुख चुडालको लगनशिलतालाई देखेर प्रधानमन्त्री ओलीले रात्रीकालिन उडानको लागि काम शुरु गर्न भने । जसका बाबजुत रात्रीकालिन उडान समेत सफल भयो । प्रधानमन्त्री ओलीले रात्रीकालिन उडानको ०७५ माघमा उद्घाटन नै गरे । साघुँरो विमानस्थल थियो, चुडाल भन्छन्, टावरको क्षेत्राधिकार ८ किमि क्षेत्राधिकारलाई बढाएर २४ किमि बनाए । उनैले जहाज कन्ट्रोल गर्ने प्रविधि ल्याएर त्यसलाई समेत विकास गरे । सो प्रविधिका कारण जहाज उडान र अवतरणको जोखिम घट्यो ।

आफ्नै कार्यकालमा चुडालले रनवेको १४ वर्ष पुरोनो कालोपत्रे पुननिर्माण गरेका छन् । क्षेत्र समेत बढाएर दुई वटा जहाज पार्किङ गर्न समस्या हुने ठाउँमा ५ वटा जहाजसम्म पार्किङ गर्ने ठाउँ बनाइदिए । आपतकालिन अवस्था आइपर्दा थप सुरक्षाका लागि दमकल समेत जुटाएका छन् । विमानस्थल भित्रको सुरक्षाका लागि अत्याधुनिक प्रविधिको एक्सरे मेसिन, सीसी क्यामेरा जडान गर्न सफल भएको बताएका छन् ।

पहिलो पटक विमानस्थल क्षेत्र पुग्ने जोही सुन्दर पार्कको रुपमा बुझ्ने गर्छन । हेर्दा पनि सुन्दर पार्क भन्दा फरक पाइदैन । उनले विमानस्थल बाहिर , भित्र , यात्रु कक्ष, प्रतिक्षालय, भीआइपी कक्ष सबैलाई आकर्षक बनाएका छन् । विभिन्न संघसंस्था, व्यवसायीको सहयोगमा उनले चन्द्रगडी विमानस्ललाई कायापलट गरे ।

विमानस्थलमा हाजिर भएदेखि उनले गरेका कामको जहाँ पनि चर्चा हुने गरेको छ । एउटा कर्मचारीले चाहेमा आमुल परिवर्तन ल्याउन सकिने झापाको चन्द्रगडी एयरपोर्ट हेर्दा स्पष्ट हुने गरेको झापाका अगुवाहरु बताउँछन् । उनको मेहनत र काममा देखिएको उपलब्धीलाई मुल्याङकन गरेर उड्डयन प्राधिकरणले उत्कृष्ट कर्मचारीको रुपमा सम्मान नै गरेको थियो । उनी आफु मात्र सम्मानित भएनन्, चन्द्रगडी विमानस्थललाई देशकै उत्कृष्ट पनि बनाए ।

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार  १ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]