बैशाख ७, २०८१ शुक्रबार

झापामा १०८ जनाले आफैलाई मारे

कम स्रोत, धेरै महत्वकांक्षा र वैदेशिक रोजगार मुख्य कारण

प्रदीप परियार

झापा । झापामा गत फागुन महिनादेखि जेठ अन्तिमसम्म १ सय ८ जनाले आफैले आफैलाई मारेका छन् । तथ्याङक अनुसार आत्महत्याको यो डरलाग्दो अवस्था हो । सचेत जिल्ला भनिएको झापामा आत्महत्याको दर बढ्दै गएको पाइएको छ ।

Google

बिर्तामोडका व्यवसायी दिपक ढकालले आफ्नैे फर्निचर पसलमा झुण्डिएर आत्महत्या गरे । गत हप्ता ढकाल भद्रपुर रोडस्थित विपम फर्निचरमा झुण्डिएको अवस्थामा फेला परे । उनले आत्महत्या गरेको ठाउँबाट प्रहरीले सोसाइट नोट समेत फेला पारेको छ ।


घटनास्थलमा उनले लेखेको नोटमा कुमार भट्टराईका कारण मर्नु परेको उल्लेख गरेका छन् भने घरमा १४ पेज लामो व्यवहारिक समस्या बारे लेखेको कागजात समेत फेला परेको छ । दुईबिचमा आर्थिक कारोवार भएको ढकाल परिवारले जनाएका छन् ।

घटनाको कारण व्यवहारिक लेनदेन देखिएपनि आत्महत्या समस्या समाधानको विकल्प नभएको प्रतिक्रिया आएको छ ।
यस्तै, कनकाई नगरपालिकामा दुई साताअघि शिक्षक पूण्य प्रसाद दाहालले विधालय परिसरमै झुण्डिएर आत्महत्या गरे । उनले पनि सोसाइट नोट लेखेको भेटियो ।

सोसाइट नोटमा उनले स्वास्थ्यको कारण देखाउँदै आत्महत्या गरेको लेखेका थिए । आफ्नो स्वास्थ्यको कारण परिवारलाई दुःख हुने उल्लेख गर्दै उनले आफ्ना अन्य शिक्षक साथीहरुलाई परिवारको दुःख, समस्या बुझिदिन आग्रह गर्दै आत्महत्या गरेका छन् ।


आत्महत्याको क्रममा सोसाईट नोट लेख्ने थोरै मात्रामा छन् । ०७५ फागुन महिनादेखि ०७६ जेठ अन्तिमसम्ममा आत्महत्या गरेका १ सय ८ जनामध्ये दुई जनाले सोसाइट नोट लेखेको कुरा बाहिरिएको छ ।


गएको चार महिनामा ९१ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने १७ जनाले विष सेवन गरेर आत्महत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयको तथ्याङकमा उल्लेख छ । फागुन, चैत, बैशाख र जेठ महिनामा सबैभन्दा बढि जेठ महिनामा आत्महत्या गरेको तथ्याङक छ । फागुनमा २७, चैत २७, बैशाखमा २३ र जेठमा ३१ जनाले आत्महत्या गरेका छन् । विवरण अनुसार औषतमा दैनिक एक जनाले आत्महत्या गरिरहेका छन् ।


यहि विवरणमा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहस्यमय मृत्यू भएका किरण कार्कीढोली पनि समावेश भएको छ । उनको मृत्यू बारे यथार्थ अहिलेसम्म सार्वजनिक भएको छैन ।
आत्महत्याको घटना अधिकतम घरभित्र भएका छन् । केहि रुखमा झुण्डिएका छन् भने केहि होटलमा समेत झुण्डिएर आत्महत्या गरेको विवरण प्राप्त भएको छ । चार महिनामा आत्महत्या गर्ने १ सय ८ जनामध्ये ६२ जना पुरुष छन् भने ४६ जना महिला रहेका छन् ।

यो अवधिमा भएको घटनामा ११ वर्ष देखि ७८ वर्षसम्मका व्यक्तिले आत्महत्या गरेको प्रहरीको तथ्याङकमा उल्लेख छ । झापाको १५ वटा स्थानीय तहको विवरण अनुसार जिल्लाको सबै भन्दा धेरै आत्महत्या दमक नगरपालिकामा भएको छ । दोस्रो बिर्तामोड नगरपालिका र तेस्रोमा भद्रपुर रहेको प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।


प्रहरीले उपलब्ध गराएको विवरण अनुसार भद्रपुर १३, अर्जुनधारा ८, बिर्तामोड १३, कचनकवल ६, हल्दिवारी ७, कनकाई ६, शिवसताक्षी,कमल,गौरादह, झापा ५/५, दमक १७, र बाह्रदशीमा ३ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या समाधान होइन : उपमेयर अधिकारी

उपप्रमुख, दमक नगरपालिका


जिल्लाको स्थानीय तहमध्ये सबैभन्दा धेरै आत्महत्या भएको दमक नगरपालिकामा हो । गएको चार महिनामा दमकमा १७ जनाले आत्महत्या गरेका छन् ।


दमक नगरपालिकाको उपप्रमुख गिता अधिकारीले समस्याको समाधान आत्महत्या नभएको बताएकी छन् । उनले समस्याको समाधान गर्ने धेरै विकल्प भएकाले यस्तो गलत निर्णय नलिन आग्रह समेत गरेकी छन् ।

उनका अनुसार कम स्रोत, धेरै महत्वकांक्षाका कारण आत्महत्याको घटना भइरहेको बताइन् । उनले आत्महत्याको प्रमुख कारण वैदेशिक रोजगारी, दुव्र्यशनी, साइवर अपराध र शहरीकरण भएको बताएकी छन् । निर्वाचन पछि आत्महत्या नियन्त्रणको लागि दमकले अभियान नै सञ्चालन गरेको उनको भनाई छ ।

अभियान सञ्चालन भइरहे पनि जिल्लामा आत्महत्याको दर अन्य स्थानीय तहको भन्दा माथि छ ।
उपप्रमुख अधिकारीले अबका दिनमा आत्महत्याको घटना कम गर्न स्थानीय प्रहरी प्रशासन, संघ संस्था, शैक्षिक संस्थासँगको समन्वयमा थप अभियान सञ्चालन गर्ने जानकारी दिएकी छन् ।

ढिलो भइसक्यो : प्रहरी उपरीक्षक

प्रहरी उपरीक्षक, झापा

झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जिल्लाको आत्महत्या सम्बन्धि घटना नियन्त्रण गर्न सचेतनाको जरुरी भएको बताएका छन् । उनले चार महिनाको तथ्याङकले दैनिक १ जनाले आत्महत्या गरिरहेको बताउँदै सचेतना अभियान सञ्चालन गर्न ढिलो भइसकेको बताए ।

प्रहरी उपरीक्षक मैनालीले पारिवारिक विखण्डन र महत्वकांक्षाले घटना बढेको दावी गरेका छन् । उनले भने– नैतिक शिक्षाको समेत कमि भएको छ, मान्छेमा व्यक्तिगत अनुशासन छैन ।
झापा सचेत जिल्ला भएको मानिन्छ, प्रहरी उपरीक्षक मैनाली भन्छन् – यहाँ समेत यस्तो अवस्था हुनु राम्रो होइन, यसलाई सबैले संवेदनशील रुपमा लिएर प्रभावकारी अभियान सञ्चालन गर्नुपर्छ ।

समाजमा रहेका सरोकारवालाले विशेष ख्याल गरेर तत्काल अभियान सञ्चालन गर्न अपरिहार्य भएको मैनालीको भनाई छ । उनका अनुसार पछिल्लो समय मान्छेमा महत्वकांक्षा अत्याधिक बढेको कारण आत्महत्या बढेको छ ।

पारिवारिक घुलमिल आवश्यक
मनोचिकित्सक गोपाल ढकालका अनुसार आत्महत्याको प्रमुख कारण डिप्रेशन नै हो । पछिल्लो ५ वर्षयता नेपालमा आत्महत्याको दर १३ प्रतिशतले बढ्दै गएको छ । उनले आत्महत्याको घटनालाई कम गर्न पारिवारिक वातावरण नै घुलमिल हुनुपर्ने बताएका छन् ।


यस्ता घटनाका पछाडी मुख्यतयाः पीडा, चिन्ता र दुःख नै भएको मनोचिकित्सक बताउँछन् । यसको नियन्त्रणका लागि राज्यले आत्महत्याको कारण खोजी प्रचारप्रसारमा ध्यान दिनुपर्ने देखिन्छ । समाजमा सचेतनाका कार्यक्रमहरू, नाकटहरू देखाएर पनि केही हदसम्म आत्महत्या कम गर्न सकिने विश्व स्वास्थ्य संगठनको एक अनुसन्धानले जनाएको छ ।

प्रकाशित मिति : असार २, २०७६ सोमबार  ८ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]