चैत्र १५, २०८० बिहीबार

नयाँ बसपार्कको व्यवस्थापन गर्न अर्जुनधारा र विर्तामोड नगरपालिकाबीच १० बुँदे निर्णय

झापा । झापाको बिर्तामोडस्थित नयाँ बसपार्क उपभोगका बारेमा अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिका बिचको विवाद समाधान भएको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको समन्वयकारी भूमिकापछि विवाद समाधान भएको हो । विभिन्न चरणमा दुई नगर बिच गरिएको समन्वयले निकाश दिने गरी निर्णय गरेको छ । सो बसपार्कको जग्गा अर्जुनधाराभित्र र जग्गादाता विर्तामोडको भएपछि केहि वर्षदेखि सर्वाधिकारको सन्दर्भमा विवाद हुँदै आएको थियो । असोज १ गते भएको छलफलपछि १० बुँदे निर्णय गर्दै समाधान खोजिएको छ ।

उक्त टेक बहादुर गिरी बसपार्कको व्यवस्थापन अब उप्रान्त १० बुँदे निर्णय बमोजिम सञ्चालन गर्न जिल्ला समन्वय समितिले पत्राचार गरिसकेको छ । १० बुँदे निर्णयमा १. टेक वहादुर गिरी बसपार्क व्यवस्थापनका लागि दुवै नगरपालिकाका सम्वन्धित वडाका वडाध्यक्षको संयोजकत्वमा बसपार्क व्यवस्थापन समितिको र सम्वन्धित वडा सचिवको समेत प्रतिनिधित्व हुने गरी बढीमा ११ सदस्यीय बसपार्क व्यवस्थापन समिति सम्वन्धित वडाले गठन गर्ने । उक्त समितिले बसपार्कमा देखिएका समस्या पहिचान गरी समाधान गर्ने । समितिका अन्य सदस्यहरु दुवै वडाका वडाध्यक्षको सहमतिमा चयन गर्ने , २. पार्किङ्ग शुल्कको ठेक्काको सूचना निकाल्नु अघि दुवै नगरपालिकाको राजश्व परामर्श समितिको बैठकबाट न्युनतम मूल्य सिफारिस गर्ने र आ–आफ्नो पालिकाले प्रचलित कानुन अनुसार पारित गराई ठेक्काको प्रकृया अगाडि बढाउने , ३. पार्किङ्ग शुल्कको ठेक्का वन्दोवस्तीको सूचना दुवै नगरपालिकाको नामबाट गर्ने । यसका लागि बिद्युतीय प्रणालीको कोड विर्तामोड नगरपालिकाको प्रयोग गर्ने । मुल्याङ्कन दुवै नगरपालिकाका पद्याधिकारी (प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख र राजश्व प्रमुख) द्धारा गर्ने । यस पछाडिका ठेक्का संझौता लगायतका प्रक्रियाहरु विर्तामोड नगरपालिकाद्धारा गर्ने । पार्किङ्ग शुल्कबाट प्राप्त हुने रकम विर्तामोड नगरपालिकाको खातामा जम्मा गर्ने , ४. पार्किङ्ग शुल्कबाट आम्दानी भएको रकममा ६० प्रतिशत विर्तामोड नगरपालिकाले राख्ने र ४० प्रतिशत रकम अर्जुनधारा नगरपालिकाको खातामा विर्तामोड नगरपालिकाले जम्मा गरीदिने , ५. उक्त क्षेत्रको व्यवसाय कर र वहालकर अर्जुनधारा नगरपालिकाले लिने , ६. घरभाडा विर्तामोड नगरपालिकाले लिने, ७. बसपार्क भित्रका घरहरुको मर्मत संहार विर्तामोड नगरपालिकाले गर्ने, ८. राजमार्ग देखि वसपार्क जाने र आउने दुवै सडक र बसपार्क भित्र र बाहिर वरीपरिका सडक ६० र ४० प्रतिशत अनुपातको लागत साझेदारी हुनेगरी क्रमश विर्तामोड र अर्जुनधारा नगरपालिकाले स्तरोन्नती तथा मर्मत संहार गर्ने , ९. बसपार्क भित्रको फोहोर व्यवस्थापन दुवै नगरपालिकाले ६० र ४० प्रतिशत अनुपातको लागत साझेदारी हुने गरी गर्ने , १०. उपरोक्त अनुसारको सर्तहरु चालु आ.व.०७७/७८ बाटै कार्यान्वयन हुने भएकोले अर्जुनधारा नगरपालिकाले चालु आर्थिक बर्षका लागि अगाडि बढाएको पार्किङ्ग शुल्कको ठेक्का प्रक्रियालाई वदर गरी सम्वन्धित ठेकेदारको धरौटी रकम समेत फिर्ता दिने उल्लेख छ ।

जिल्ला समन्वय समिति झापाले दुवै पालिकालाई जानकारी पत्र समेत पठाइसकेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रदेश १ का प्रदेश सभा सदस्य एकराज कार्की, विर्ख बहादुर प्रधान, अर्जुनधाराका मेयर हरिकुमार राना, उपमेयर कमला आचार्य, बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटी, उपमेयर पवित्रा महतरा, जिल्ला समन्वय अधिकारी रुप्र प्रसाद न्यौपाने, अर्जुनधारामा प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, बिर्तामोडका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, बिर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख देवराज कार्की, बरिष्ठ कार्यक्रम अधिकृत, जय तिम्सिना, बिर्तामोड – ५ का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन, बिर्तामोडका प्रेस संयोजक तीर्थ सिग्देल र भैरव बहादुर खड्को उपस्थितीमा सो निर्णय गरिएको हो ।

यसअघि २०६१ साल असार १३ गते आईतवार तत्कालिन अनारमनी गाविसको तर्फबाट अध्यक्ष मोहन प्रसाइर्, गाविस सचिव छत्रवावु ओझा तथा शनिश्चरे गाविसका अध्यक्ष लवकुश गिरी र सचिव लक्ष्मी प्रसाद तिम्सीनाबाट संयुक्त रुपमा हस्ताक्षरित शर्तनामा अनुसार बसपार्क सञ्चालन हुदै आएको थियो । साविक अनारमनी–३ निवासी सुदर्शन गिरीले हाल अर्जुनधारा नगरपालिका वडा नं. ११ (साविक शनिश्चरे गाविस ७ ) को जम्मा २ विघा जग्गा निशुल्क रुपमा बसपार्क निर्माणका लागि उपलब्ध गराएका थिए । टेक बहादुर गिरी बसपार्कबाट प्राप्त आम्दानी मध्ये ६० प्रतिशत अनारमनी गाविस (हालको विर्तामोड नगरपालिका) ले र ४० प्रतिशत रकम शनिश्चरे गाविस (हालको अर्जुनधारा नगरपालिका) ले उपभोग गर्ने निर्णय भएको थियो । अब बसपार्कको व्यवस्थापन १० बुँदेलाई टेकेर सञ्चालन एवम् उपभोग गर्ने निर्णय गरिएको जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।
जिसस झापाको बुलेटिनबाट साभार

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  ११ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]