जेष्ठ ३, २०८१ बिहीबार

‘ए क्लास’ को एसियाली राजमार्गसँग पूर्वी नेपालको पहुँच

झापा । एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडिएका छन् । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो ।

नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा निर्माण भएको सो पुलको लम्बाइ ७९० मिटर रहेको छ । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मेची नदीमा पुल निर्माण भई सञ्चालनमा आएसँगै अब नेपालको पहुँच ए क्लासको ‘एसियन हाइवे’ सँग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेची नदीमा यसअघि दुई लेनको मात्र पुल थियो, अहिले चार लेनको पुल निर्माण भएसँगै नेपाल सीमापारि निर्माण गरिएको ए क्लासको ‘एसियन हाइवे’ सँग जोडिएकोे छ ।” यसअघि सीमापारि पनि ए क्लासको ‘एसियन हाइवे’ निर्माण गरिएको थिएन ।
नेपालको पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्दछन् । पूर्व–पश्चिम राजमार्ग ‘एसियन हाइवे’ को रुट–२ र अरनिको राजमार्ग रुट–४२ अन्तर्गत पर्दछन् । नेपालको पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम सुरु भइसकेको बताउँदै उहाँले भन्नुभयो, “उक्त राजमार्गको नारायणगढ–बुटवल खण्डमा बिस्तार कार्य सुरु भइसकेको छ भने नारायणगढ–हेटौँडा–पथलैया–कमला हुँदै काँकडभिट्टासम्म परापर्शदाता नियुक्त हुने प्रक्रियामा रहेको छ ।”

“एसियाली राजमार्गका आफ्नै मापदण्ड छन् र अहिले नेपालका दुई राजमार्ग ‘सी क्लास’ अन्तर्गत पर्दछन्” महानिर्देशक शर्माले भन्नुभयो, “यी दुई राजमार्गलाई चार लेनमा बिस्तार गरी मापदण्ड पूरा गरेपछि ‘ए क्लास’ मा स्तरोन्नति हुन्छ ।” महानिर्देशक शर्माका अनुसार एसियन हाइवेको रुट–२ थाइल्यान्डको बैङ्ककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर बनबासा र त्यहाँबाट भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ । त्यसैगरी, एसियन हाइवेको रुट–४२ अन्तर्गत भारतको रक्सौल हुँदै नेपालको वीरगञ्ज, नारायणगढ, काठमाडौँ भएर अरनिको राजमार्गको धुलिखेल, बाह्रबिसे, तातोपानी हुँदै चीनको ल्हासासम्म पुग्छ ।

प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]