कार्तिक ७, २०७७ शुक्रबार

पञ्जाबविरुद्ध हैदराबादको अहिलेसम्मकै सहज जीत, तेस्रो स्थानमा उक्लियो

काठमाडौं । आईपीएलको १३ औं सिजनको २२ औं खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेवन पञ्जाबलाई ६९ रनले पराजित गरेको छ ।

आईपीएलमा पञ्जाबविरुद्ध हैदराबादको यो सबैभन्दा सहज र ठूलो जीत हो । यसअघि सन् २०१९ मा हैदराबादले पञ्जाबलाई ४५ रनले पराजित गरेको थिो ।

दुबईमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै हैदराबादले २ सय २ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा पञ्जाबले १६.५ ओभरमा मात्र १३२ रन बनाएर अलआउट हुनपुग्यो ।
पञ्जाबलाई सस्तोमा समेट्न रासिद खानले घातक बलिङ गरे । उनले ४ ओभरमा १ मेडेन राख्दै मात्र १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, टी नटराजन र खलिल अहमदले २-२ विकेट लिए ।

पञ्जाबका लागि निकोलास पुरनले ३७ बलमा ७७ रनको विष्फोटक पारी खेले पनि उनलाई साथ दिने अन्य ब्याट्सम्यान भएनन् । १७ बलमा यो सिजनको सबैभन्दा तीव्र गतिको अर्धशतक पुरा गरेका पुरनले आफ्नो पारीमा ५ चौका र ७ छक्का लगाए । कप्तान लोकेश राहुल र सिमरन सिंहले ११-११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

यसअघि, जोनी बेयरस्टोको ९७ रनको मद्दतले हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । बेयरस्टोले कप्तान डेविड वार्नरसँग पहिलो विकेटका लागि १ सय ६० रनको साझेदारी गरेका थिए ।

वार्नरले ५२ रन बनाए । योसँगै दुई जनाले १६ पारीमा १ हजारभन्दा बढीको साझेदारी पूरा गरेका छन् । दुई जनाले ५ पटक शतकीय र ४ पटक अर्धशतकीय पारी खलेका छन् । त्यस्तै, केन विलियमसनले २० रनको योगदान दिए । पञ्जाबका लागि रवि विश्नोईले ३ तथा अर्षदीप सिंहले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट