झापामा लकडाउन गर्ने कुनै निर्णय भएको छैन : प्रजिअ तिमिल्सिना
बिर्तामोड । कोरोना संक्रमण बढ्दै गएपछि फेरि लकडाउन हुन सक्ने अनुमान गरिएको छ । अनुमानका आधारमा लकडाउन बारे व्यापक हल्ला समेत चलिरहेको छ ।
व्यवसायी फेरि लकडाउन हुन सक्नै भन्दै त्रासमा व्यवसाय गरिरहेका छन् । लामो समयको लकडाउनले चौपट्ट बनाएको मानव जीवन फेरि समस्यामा पर्ने भन्दै लकडाउन बारे चिन्ता शुरु भएको छ । झापामा असोज २६ गतेदेखि लकडाउन हुने भन्ने हल्ला नै शुरु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय संक्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकालेको थियो । मन्त्रालयले कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर ‘सीसीएमसी’लाई उक्त सिफारिस गरेको थियो । दुई सातापछि सक्रिय संक्रमितको संख्या २५ हजार नाघिसकेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले लकडाउन बारे कुनै निर्णय नभएको बताएका छन् । उनले बजारको हल्लाको आधारमा लकडाउन नहुने बताए ।
झापामा अहिल्यैको अवस्थामा लकडाउन गर्नुपर्ने स्थिति छैन, प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भने– तर , उच्च सतर्कता अपनाउन जरुरी छ । जिल्लामा लकडाउन गर्ने बारे अहिलेसम्म कुनै निर्णय नगरिएको उनको भनाई छ ।
प्रजिअ तिमिल्सिनाले नजिकिएको चाडवाडमा संक्रमण फैलिन सक्ने जोखिम रहेको बताए । उनले जोखिमलाई मध्यनजर गर्दै दशैं, तिहार र छठसम्मलाई जिल्ला तहमा व्यवस्थापनका लागि निर्णय हुन्छ । चाडवाडमा भीडभाड बढ्ने भएकाले त्यसको लागि मापदण्डसम्म बनाइने छ । उनका अनुसार जिल्लाले केन्द्र सरकारको नीति अनुरुप काम गर्ने भएकाले माथिको निर्देशन अनुसार व्यवस्था गरिने छ ।
चाडवाडमा सबै क्षेत्रको सहयोग र सहकार्यबाट जोखिम कम गर्नुपर्ने प्रजिअको भनाई छ । उनले व्यवसायी, सामाजिक क्षेत्र र सरोकारका क्षेत्रहरुबाट सतर्कता अपनाउन नागरिकलाई आग्रह गरिने बताए । अब व्यवसायिक क्षेत्रमा भीड बढ्ने भएकाले त्यसका लागि उच्च सतर्कता अपनाउन व्यवसायीलाई विषेश आग्रह गरिएको छ ।
लकडाउन होइन निषेधाज्ञा हुन सक्छ
सरकारका प्रवक्ता प्रदीप ज्ञवाली भन्नुहुन्छ, “देशभरि लकडाउन गर्ने अवस्था छैन्, हटस्पट भएको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर कोभिड–१९ नियन्त्रणको प्रयास गरिनेछ ।” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सामाजिक दूरीको पालना, मास्क अनिवार्य लगाउनुपर्ने र हात साबुन पानीले नियमित धुनुपर्ने तथा बाहिरबाट आउने सर्वसाधारणको संख्या बढ्दा सङ्क्रमण बढेको जनाएको छ ।