कार्तिक ७, २०७७ शुक्रबार

टिप्न जान्नुपर्छ, पातमै फल्छ डलर

झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले झापालाई सुपारी जोन घोषणा गरेको छ तर जोनमा प्राविधिक नहुँदा सुपारी कृषकका धेरै समस्या सम्बोधन हुन सकेका छैनन् । सुपारी दानाको निर्यात पनि चार वर्षदेखि बन्द छ । हाल आएर खेर जाने पातबाट बनेका सामग्रीले भने स्वदेशी र विदेशी बजार जमाउन थालेका छन् ।

वगानमै कुहिएर खेर जाने सुपारीको पातबाट बन्ने आकर्षक र पर्यावरणमैत्री थाल, कचौरा, चम्चा र थाली युरोपमा निर्यात हुन थालेका छन् । नयाँ उद्यामशीलताको खोजी गर्दै झापामा सञ्चालन भएका तीनवटा उद्योगले उत्पादन गरेका त्यस्ता सामग्रीको माग युरोपमा बढेपछि उद्यमी र कृषक उत्साहित भएका छन् ।

सुपारीको पातको डाँठबाट बन्ने सामग्रीको युरोप निर्यात हुन थालेपछि व्यवसायको भविष्य राम्रो हुने आशा बढेको झापाको मेची नपा–९ स्थित धुलाबारीको लिफ प्लस प्रालिका प्रोप्राइटर हरि दाहालले बताउनुभयो ।
पहिलोपटक गत भदौ १५ गते र दोस्रोपटक असोज १५ गते सामग्री युरोप पठाइएको दाहालले जानकारी दिनुभयो । जर्मनीका व्यवसायीले उद्योगको अनुगमन गरी मन पराएपछि ती सामग्री जर्मन निर्यात गरिएको हो ।

तीनवटा उद्योग
झापामा मात्र यस्ता तीनवटा उद्योग स्थापना भएका छन् । जिल्लाको सबैभन्दा ठूलो उद्योग भनेको लिफ प्लस प्रालि हो । पहिले हेटौँडामा स्थापना भएको यो उद्योग अहिले झापा स्थानान्तरण भएको हो ।
बेग्लाबेग्लै विधामा इन्जिनियरिङ पढ्दै गरेका तीन युवा विधान पोखरेल, कोविद बानियाँ र स्वाभिमान आचार्यले दुनामा मम खाँदा चुहिने र सिन्काले घोच्ने जोखिम रहेको पाएपछि विकल्प खोज्दै जाँदा यो उद्योग स्थापना भएको हो । त्यसमा झापाका हरि दाहाल जोडिनुभएको हो । अहिले त्यही समस्याबाट डलर आम्दानीको बाटो खुलेको छ त्यो पनि काम नलाग्ने पातबाट, त्यो टिप्ने कला लिफ प्लसले सिकाएको छ ।
करिब डेढ करोड रुपियाँको लागानीमा स्थापना भएको लिफ प्लसले दैनिक सातदेखि आठ हजार थान उत्पादन गर्दै आफ्ना उत्पादन युरोप निर्यात गरेर डलर कमाउन सफल भएको हो । झापाकै बुधबारेमा रहेको नानीदेवा प्रालि र बाँहुनडाँगीमा रहेको एक अर्को उद्योगबाट दैनिक एक हजार थान उत्पादन हुँदै आएको र स्थानीय बजारमा खपत बढेको छ ।

कसरी हुन्छ उत्पादन ?
लिफ प्लस प्रालिका प्राविधिक विनोद गौतमका अनुसार सुपारीको बोटले नयाँ पात हालेपछि पुरानो पात झर्दै जान्छ । त्यही झरेको पुरानो पातको डाँठलाई पानीको राम्ररी सफा गरिन्छ अनि चम्चा÷प्लेटको आकार भएको मेसिन फर्मामा राखेर १५० देखि २०० डिग्री सेन्टिग्रेटको तापक्रममा पाँच मिनेटसम्म थिचेर तताइन्छ । अनि तयार हुन्छन्, आकर्षक सामग्री ।
सामग्रीको गुणस्तरअनुसार नेपालभित्र खुद्रा मूल्यमा प्रतिगोटा १० देखि १५ रुपियाँमा बिक्री हुन्छ भने विदेश निर्यात गर्दा भने अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मूल्य पाइन्छ । उद्योगहरूले खण्डे थालदेखि साना–ठूला प्लेट अनि बटुकादेखि चम्चा गरी १८ प्रकारका वस्तु उत्पादन गर्ने गरेका छन् ।

स्थानीय रोजगारी सिर्जना
स्थापना भएका उद्योगले बजार मात्र लिएका छैनन्, स्थानीय रोजगारी पनि सिर्जना गरेका छन् । कच्चा पदार्थका रूपमा रहेको पात सङ्कलन गर्न लिफ प्लसले मात्र १९ जना सङ्कलक राखेको छ । अरू दुई उद्योगले पनि प्रतिउद्योग १० जनालाई त्यस्तै रोजगारी दिएका छन् ।
खेर जाने पातबाट किसानले प्रतिपात दुईदेखि तीन रुपियाँसम्म पाउँछन् । सङ्कलकले पनि सोही मूल्य बराबरको पारिश्रमिक पाउँछन् । यसरी पात सफा गर्नेदेखि मेसिनको काम गर्नेसम्म गरी तीनैवटा उद्योगमा झन्डै एक सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
विज्ञ प्राविधिकबिनाको जोन
सुपारीका खेर गएका पातबाट यस्तो व्यवसाय फैलाउने सम्भावना भए पनि सुपारी खेतीमा समस्या बेग्लै छन् । सुपारी जोन घोषणा भए पनि यस क्षेत्रमा अध्ययन गरेको विषयविज्ञ प्राविधिक नै छैनन् ।
तत्कालीन जिल्ला कृषि ज्ञान केन्द्रअन्तर्गत सुपारी जोनका प्रमुख रवीन्द्र सुवेदीले अहिलेसम्म सुपारी खेतीसम्बन्धी अध्ययन गरेको एक जना पनि प्राविधिक नभएको बताउनुभयो । त्यसैले जोनका कार्यक्रमको सफलताबारे किसानले प्रश्न गर्न थालेका छन् ।
विज्ञ प्राविधिक नहुँदा किसानले सुपारीमा लाग्ने रोग, कीरा र यसको सामाधान हुन नसकेको गुनासो गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका काली स्थानकी सुपारी किसान धनमाया खरेल ४० वर्षदेखि आफूले सुपारी खेती गरिरहेकामा पछिल्लो समय सुपारीको बोट, दाना, सुक्ने समस्या धेरै रहेको बताउनुहुन्छ । बोट सुकेर भाँचिने, जरा मर्नेजस्ता समस्या आउँछन् तर कसलाई र कहाँ सोध्ने भन्ने नै अन्योल छ । यस्ता समस्याको विषयमा किसानले गुनासो राख्दै आएको खरेलले बताउनुभयो ।
खरेलजस्तै यो क्षेत्रका सुपारी खेती गरिरहेका सयौँ किसानले यस्तो समस्या भोगिरहेका छन् । परम्परागत रूपमा गर्दै आएको निर्वाहमुखी खेतीलाई व्यावसायिक रूपमा अघि बढाउन सम्बन्धित विषयका विज्ञ प्राविधिक आवश्यक हुन्छ ।
खेर गएका पातका सामानसमेत निर्यात हुन थालेपछि ‘हरियो डलर’का रूपमा चिनिन थालेको सुपारी खेतीका समस्या समाधान गर्न कृषकले माग
गरेका छन् ।
हालसम्म किसानले परम्परागत तरिकाले सुपारी खेती गर्दै आएकामा अब सुपारी जोनमार्फत प्राविधिक सेवा, प्रशोधन उद्योग, बजार र अनुदान बढी मात्रामा पाइने अपेक्षा गरेका छन् ।

मरिच र बेसार खेतीको सम्भावना
बहुवर्षे सुपारी खेतीभित्र विभिन्न घुसुवा बालीको पनि व्यावसायिक खेतीको सम्भावना प्रशस्त छ । यो सम्भावना भए पनि पूरा जानकारी नहुँदा धेरै क्षेत्रफलमा खेती विस्तार भएको पाइँदैन ।
नगन्य रूपमा रहेको खेती घरको आवश्यकताका लागि केही मानिसले मरिच खेती गरेका छन् केही परिवारले बेसार खेती गरेका छन् तर व्यावसायिक छैन ।

दाना निकासी बन्द
कृषिजन्य उत्पादनको सूचीमा नरहेको भन्दै भारतले नेपालको सुपारी आयातमा प्रतिबन्ध लगाएपछि सुपारी जोनमा उत्पादन भएका सुपारी गोदाममा नै थन्क्याउनुपर्ने अर्को बाध्यता छ । यसरी वैधानिक बाटो बन्द भएपछि चोरबाटो भएर सुपारी तस्करीको धन्दा पनि बढेको किसानको गुनासो छ ।
सरकारले सुपारीलाई कृषिजन्य वस्तुको सूचीमा राखेर तत्काल निर्यात खुला गर्नुपर्ने सुपारी किसानको माग छ । सुपारी जोन क्षेत्रमा नै उत्पादन भएको सुपारीले बजार नपाएपछि किसान सुपारी खेती मासेर वैकल्पिक खेती गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

दाना प्रशोधनमा समस्या
नेपालमा सुपारीका दाना प्रशोधन गर्ने कारखाना पनि छैन । परम्परागत रूपमा प्रशोधन गरेको सुपारीसमेत नबिकेर गोदाममा नै थक्याउनु परेको अर्जुनधारा–८ मा सुपारी प्रशोधन गरिरहनुभएका व्यवसायी रघुनाथप्रसाद गुप्ता बताउनुहुन्छ ।

वार्षिक उत्पादन दस हजार टन
नेपालको सबैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्ला झापामा सरदर वार्षिक रूपमा १० हजार मेट्रिक टन (झन्डै तीन अर्ब रुपियाँको) सुक्खा सुपारी उत्पादन हुने गर्छ । हाल दुई हजार ७३१ हेक्टर जग्गामा गरिएको सुपारी खेतीबाट वार्षिक नौ हजार ७१० मेट्रिक टन सुपारी उत्पादन भइरहेको छ । जिल्लाको मेची र अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका गरी तीनवटा पालिकामा सुपारी खेती हुँदै आएको छ ।
करिब ७० वर्षअघि सुपारी रोप्न थालिएको झापामा पछिल्लो समय व्यावसायिक भएको हो । भारतबाट नेपाल आउने मानिसले ल्याएर घरमा खानका लागि रोपिएका सुपारीे तीन दशकदेखि पूर्ण व्यावसायिक भएको स्थानीय अग्निप्रसाद शिवाकोटीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट