जेष्ठ २, २०८२ बिहीबार

‘जातको प्रश्न’बारे समता फाउन्डेशनको प्रष्टोक्ति

काठमाडौं । समता फाउन्डेशनले दलित समुदायविरुद्ध भइरहेका शृङ्खलावद्ध हिंसा र विभेदबारे सरोकारवाला र समुदायस्तरमा संवादको संस्कृति बढाउनका लागि ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम उत्पादन गरिएको प्रष्ट पारेको छ ।

कार्यक्रम प्रशारण भइरहेकै बेला समता फाउन्डेशनको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई समेत दुरुपयोग गरेर सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको सो संस्थाले उल्लेख गरेको छ । 

फाउन्डेशनका कार्यकारी अध्यक्ष प्रदिप परियारले जातीय विभेदसम्बन्धी घर–घरमा संवाद सुरुवात गर्नु नै सो टेलिभिजन कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रष्ट पारेका छन् ।  ‘यस कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिंग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाग्रह नराखेको स्पष्ट गर्न चाहन्छौं,’ परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रमबारे भएका समालोचनात्मक तथा रचनात्मक सल्लाह र सुझावलाई हामी सदैव स्वागत गर्दछौँ ।’

समाजमा विद्यमान जातीय विभेदको विविध पक्षमा विचार–विमर्श होस् भन्ने आफूहरुको उद्देश्यलाई स्वस्थ बहसले थप बल र सहयोग पुग्ने उनको भनाइ छ । सामाजिक संजालमा सार्वजनिक गरिएका पोस्टर समता फाउन्डेशनले नबनाएको र त्यसमा संस्थाको कुनै संलग्नता समेत नरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘अनधिकृत रुपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गरी पोस्टर बनाइ भ्रम फैलाउनु नेपाल सरकारको साइबर कानुनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको प्रचलित नीति–नियम र कानुन बमोजिम विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्य र सहयोगमा सञ्चालन भएका परियोजना तथा कार्यक्रमहरु पारदर्शी ढंगले सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वलाई संस्थाले प्राथमिकतासाथ बहन गर्दै आएको छ ।’

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  १ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]