माध्यामिक तह पास गरेका युवाले पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने
झापा । अब युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् । ८ असोजमा मन्त्रीपरिषदले गरेको निर्णय अनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधिमा तेस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।
यससँगै सहुलियत दरमा युवा नै लक्षित तीन वटा कर्जा योजना सञ्चालनमा आएको छ । यसअघि सात लाख रुपैयाँसम्म शिक्षित युवा स्वरोजगार र १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा सञ्चालनमा छन् ।
माध्यमिक तह वा सो सरहको शिक्षा हासिल गरेकाले समेत पाँच लाख रुपैयाँसम्मको युवा स्वरोजगार कर्जा प्राप्त गर्नेछन् । सिप विकास उद्यमशिलता तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगायत कुनैबाट कम्तिमा सात दिनको उद्यम सम्बन्धि तालिम लिएको भए पुग्ने भएको छ । बैंकले ग्राहकलाई लगाउने व्याजदरमा राष्ट्र बैंकले पाँच प्रतिशत व्याज अनुदान दिनेछ ।
गत बैशाखसम्ममा ६६ जनाले तीन करोड ५२ लाख रुपैयाँ बराबर शिक्षित युवा कर्जा पाएका छन् भने विदेशबाट फर्केका दुई सय २२ जनाले १५ करोड १७ लाख रुपैयाँ कर्जा पाएका छन् ।
कर्जा बीमाको अनुदान घट्यो
यसअघि कृषि तथा पशुपक्षी कर्जामा जाने १० लाख रुपैयाँभन्दा कमको कर्जामा राष्ट्र बैंकले अनुदान सोधभर्नाबाट ७५ प्रतिशत व्यहोर्दै आएको भएपनि अहिले अनुदान घटाइएको छ । अब भने राष्ट्र बैंकले ५० प्रतिशत बीमा शुल्क व्यहोर्ने भएको छ । यही व्यवस्था परियोजना धितो लिएर दिइने कर्जामा पनि लागु भएको छ ।
त्यस्तै, अनुदानमा दिइने कृषि कर्जा व्यापार (बिक्री वितरणसँग सम्बन्धित) को लागि भने रोकिने भएको छ । यसअघि यस्तो कुनै व्यवस्था नगरिएकोमा अब उत्पादन देखि प्रशोधन सम्मको काममा मात्रै अनुदानमा आधारित कृषि कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा शीर्षकमा भने कर्जा पाइने क्षेत्र थपिएको छ । यसअघि १९ वटा व्यवसाय समेटिएकोमा ३२ वटा व्यवसाय समेटिएको छ । गत बैशाखसम्म २४ हजार सात सय ६४ जनाले ५४ अर्ब ११ करोड रुपैयाँ बराबर कृषि तथा पशुपक्षी कर्जा पाएका थिए । नयाँ पत्रिका