बिर्तामोड प्रहरीले कसरी भेट्यो एकैदिनमा हत्या गर्ने ‘टल्के’ ?
बिर्तामोड । झापा कनकाई नगरपालिका– ३ एकान्तटोलका २२ वर्षीय अभिषेक चौधरीको हत्या गर्ने उनैका साथीलाई बिर्तामोड प्रहरीले बिहीवार सार्वजनिक गरेको छ । प्रहरीले गाँजाको निहुँमा साथीले चौधरीको हत्या गरेको खुलेको छ ।

पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय अनारमनीले हत्यामा संलग्न भएका कनपा ७ का २२ वर्षीय रविन राजवंशी (टल्के) लाई सार्वजनिक गरेको हो । चौधरीकोे शव बुधबार विहान ६ बजे कनपा –३ एकान्त टोल नजिकै सुरुङा खोलाको बाँस घारीमा फेला परेको थियो । चौधरीलाई टल्केले बञ्चरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका टल्केले अभिषेक चौधरीको हत्या आफैले गरेको स्वीकार गरेका छन् ।
मंगलवार राती अभिषेक र टल्के बिच भेट भएको थियो । अभिषेकले चौधरीलाई १ सय रुपैयाँको गाँजा किन्न पठाएको र गाँजा ल्याएपछि टल्केलाई खान दिन्न भनेपछि उनले घरबाट बञ्चरो ल्याई प्रहार गरेको प्रहरीको भनाई छ ।
मिलेर खानुपर्छ भन्दै लिन पठाएर ल्याएपछि दिन्न त गर्छस् भनेपछि उनीहरु बिच विवाद भएको अनुसन्धानमा खटिएका इप्रका विर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । टल्के हिडेपछि भुँइमा बसेर गाँजा काटिरहेका चौधरीलाई पछाडिबाट बञ्चरो प्रहार गरेर मारेको राजवंशीले प्रहरीलाई जानकारी गराएका छन् । घटनाको सूचना प्राप्त हुनासाथ बिर्तामोड प्रहरीले दिनभरमा हत्यामा संलग्नलाई पक्राउ गरेको छ । घटनास्थलमा फेला परेका विभिन्न प्रमाणका आधारमा टल्केलाई समातिएको हो । उनी विरुद्ध कर्तव्य मुद्धा लाग्ने छ ।
एकैदिनमा समातिए ‘टल्के’
घटना बारे इलाका प्रहरी कार्यालय सुरुङाले बिर्तामोड प्रहरीलाई जानकारी गरायो । बिर्तामोडमा जानकारी प्राप्त हुनासाथ डिएसपी मुकुन्द रिजाल नेतृत्वको टोली विहानै शव रहेको स्थलमा प्रथान गरेको थियो । प्रहरीले शवको प्रकृति देखेपछि हत्याको अनुमान लगाएर अनुसन्धान थालेको डिएसपी रिजालको भनाई छ । घटनास्थल नजिकै एक जोडी चप्पल भेटेपछि प्रहरीलाई अनुसन्धानमा थप मद्दत पुगेको उनको भनाई छ ।
चौधरीका बारेमा प्रहरीले जानकारी लिएपछि उनी लागुऔषध प्रयोगकर्ता भएको थाहा भयो । त्यसपछि प्रहरीले चौधरीको साथीहरु खोजी शुरु गर्यो । उनका नजिकका केहि साथीलाई तत्कालै नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो । अधिकांशले सो घटना भएको समयमा आफुहरु अन्तै रहेको जानकारी गराए । सोहि बेला प्रहरीले चप्पलको पहिचानका लागि उनीहरुलाई फेरि केरकार ग¥यो । उनीहरुले त्यो चप्पल टल्केले लगाउने बताइदिए । त्यसपछि प्रहरीले सबै काम छोडेर टल्केको खोजीमा लाग्यो । नजिकका साथी भएपनि यत्रो घटना हुँदा समेत टल्के हराएनु र चप्पल पनि उनैको हुनुले प्रहरीलाई शंका बढ्यो । टल्के खोज्दै जाँदा साँझ पौने आठ बजे कनपा –७ को त्रिवेणी टोलबाट पक्राउ परे । पक्राउ पर्नासाथ उनले प्रहरीलाई हत्या गरेको स्वीकार गरेका थिए ।
बिर्तामोड प्रहरीले अनुसन्धानलाई तिब्रता दिएर एकैदिनमा हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेकामा चौतर्फी प्रशंसा भइरहेको छ ।