धौलागिरी पारिजातको पहिलो सहकारी पसल जयपुरमा
बुद्धशान्ति । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले आजदेखि जयपुरमा पहिलो सहकारी पसल सञ्चालनमा ल्याएको छ ।
बिर्तामोडमा प्रधान कार्यालय रहेको सहकारीले घटस्थापनाको दिन बुद्धशान्ति –२ जयपुर चोकमा सहकारी पसल सञ्चालनमा ल्याएको हो । सहकारीले दोस्रो पसल गोल्धापमा सञ्चालन गर्ने तयारी थालेको छ । धौलागिरीले शुरु गरेको डिपार्टमेन्ट स्टोरको उद्घाटन वडाध्यक्ष दिलिप श्रेष्ठले गरेका छन् ।

वडाध्यक्ष श्रेष्ठले कोभिड १९ को कारण आर्थिक मन्दीले जनजीवन नै अक्रान्त पारेको विषम परिस्थितिमा धौलागिरी पारिजात सहकारीले सुपथ मूल्यको पसल सञ्चालन गरी स्थानीय बासिन्दालाई राहत पुर्याएको बताए । सहकारीले पसल सञ्चालन गरी सेवासँगै रोजगारीको अवसर पनि दिएको वडाध्यक्षको भनाई छ ।
उद्घाटन समारोहमा सहकारीका अध्यक्ष पौडेलले जयपुरमा नै पहिलो डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएएको बताए । उनले पहिलो पसल जयपुरमै खोलेर विकासमा सहकार्य गर्न खोजेको बताए । अध्यक्ष पौडेलले स्थानीय बासिन्दालाई सुपथ मूल्यमा गुणस्तरीय वस्तुहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।