बैशाख १५, २०८१ शनिबार

सन्दकपुरको प्राथमिकतामा पर्यटकीय पूर्वाधार

भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको सन्दकपुर गाउँपालिका पर्यटकीय क्षेत्रका प्रचुर सम्भावना बोकेका ठाउँ हो । विश्व रामसार सूचीमा सूचीकृत माइपोखरी, पूर्वी पहाडकै उत्कृष्ट पर्यटकीय गन्तव्य सन्दकपुरसहित छिन्टापु, मेचीकै अग्लो टोड्के झरनाजस्ता महत्वपूर्ण स्थल यही गाउँपालिकामा छन् । १५६.०१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो गाउँपालिकाको जनसङख्या १६ हजार ६५ छ । तीन वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकामा तत्कालीन नेकपा एमालेको तर्फबाट उदयबहादुर राई गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनु भयो । स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएयता भएका विकास निर्माण र समसामयिक विषयमा सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईसँग गोरखापत्रका कोकिला ढकालले गर्नुभएको कुराकानी :

तपाईँ निर्वाचित भएर आएको तीन वर्ष बितिसक्यो । यो अवधिमा विकासका के कति काम भए ?

हामी आएपछि धेरै काम भएका छन् । हामी निर्वाचित हुँदा सन्दकपुर गाउँपालिकाको एउटा वडाबाट अर्काेसम्म पुग्ने सहज सडक थिएन । बिजुली थिएन । गाउँपालिका भवन थिएन । वडा भवन थिएनन् । स्वास्थ्य, शिक्षा, खेलकुद, वन, वातावरणलगायत क्षेत्रको अवस्था दयनीय थियो । हामीले समग्र क्षेत्रमा उल्लेख्य प्रगति गरिसकेका छौँ । पाँच वर्षमा हामीले जुन लक्ष्य पूरा गर्छाैं भनेर आएका थियौँ, करिब ९० प्रतिशत काम पूरा भइसकेका छन् ।

जनताले विकासको महशुस गर्नसक्ने गरी के कस्ता योजना अगाडि बढाउनुभयो ? के कति सम्पन्न गर्नुभयो त ?

स्थानीय सरकारले पाएको महत्वपूर्ण काम कानुन निर्माणको हो । त्यो पाटोलाई हामीले महत्व दियौँ । गाउँपालिकाको भवन, वडा भवन निर्माण भइसके । अहिले सबै वडासम्म कच्ची भए पनि सडक पुगेको छ । केही वर्ष भित्रमा सन्दकपुर गाउँपालिका भएर कालोपत्रे सडकबाटै पाँचथर र ताप्लेजुङसम्म पुग्न सकिने छ । स्थानीय खोलामा आवश्यक पुल बनाइसकेका छौँ । ज्यादै विकराल बनेको शिक्षा क्षेत्रको सुधार सबैभन्दा उपलब्धिमूलक छ । यसअघि घरै बसेर विद्यालयको तलब खाइरहेका शिक्षकलाई कारबाही गरेका छौँ । अनावश्यक विद्यालय मर्ज गरी आवश्यक विद्यालयमात्र राख्न सफल भएका छौँ । सामुदायिक विद्यालयमा विद्यार्थीले पढ्ने वातावरण बनाउन धेरै पक्षमा सुधार भइसकेको छ, अझै पनि हुँदैछ । हामी शिक्षाको गुणस्तर बढाउने अभियानमा छौँ । पूर्वी पहाडको उत्कृष्ट पर्यटकीय गन्तव्य सन्दकपुर डाँडो, रामसारमा सूचीकृत माइपोखरी, मेचीकै अग्लो टोड्के झरना, छिन्टापु, हाँगेथाम, चोयाटार लगायत पर्यटकीय स्थलको पूर्वाधार विकास भएको छ । यहाँको जैविक विविधता संरक्षणमा पनि हामीले उत्तिकै काम गरिरहेका छौँ । झट्ट हेर्दा पनि पहिले र अहिलेको सन्दकपुर गाउँपालिकाका धेरै क्षेत्रमा सुधार भएको देखिन्छ ।
आफ्नो कार्यकालको आधाभन्दा बढी समय बितिसकेको छ । चुनावका बेला गर्नुभएको प्रतिबद्धता कति पूरा भए त ?
हामी निर्वाचित भएपछि गरेका सबै काम निर्वाचनअघि गरेकै प्रतिबद्धताअनुसार भएका हुन् ं । हामीले त्यतिबेला जुन सपना देखेका थियौँ, त्यसको नजिक पुगेका छौँ । मतदातासँग जुन विश्वास दिलाएका थियौँ, त्यसमा तलमाथि हुनेछैन । चुनावअघि एउटा पार्टीको झण्डा बोकेर निर्वाचित भएका हौँ तर जिम्मेवारी लिइसकेपछि यो पार्टी र त्यो पार्टी भनेर कसैलाई विभेद गरेका छैनौँ । समग्र सन्दकपुरलाई समृद्ध बनाउने आधार तयार गर्दैछौँ । हामी निर्वाचित हुनुअघि ३० प्रतिशतभन्दा थोरै जनसङ्ख्यामा मात्र विद्युत्को पहुँच थियो, अहिले लगभग शतप्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ ।

भौतिक पूर्वाधारलाई नै बढी महत्व दिनुभएको जस्तो देखिन्छ । अरु क्षेत्र ओझेलमा परेका त हैनन् ?

कुनै पनि पक्ष ओझेलमा परेको छैन । हाम्रोजस्तो भौगोलिक विकटता भएको गाउँमा भौतिक पूर्वाधार समृद्धिको पहिलो सर्त रहेछ । जहाँ सडक, बिजुली, खानेपानी, सिँचाइ, खेलकुद लगायतको सुविधा र विकास हुँदैन, त्यहाँ समृद्धिको बाटो खुल्दैन । तर पनि हामीले भौतिक पूर्वाधारलाई मात्र हेरेका छैनाँैं । नागरिकको आर्थिक, सामाजिक, साँस्कृतिक अवस्थामा सुधार ल्याउन पनि उत्तिकै कम्मर कसेर लागेका छौँ । सिङ्गो सन्दकपुर गाउँपालिकालाई किबी जोन घोषणा गरी नेपाल सरकारबाट ठूलो परियोजना ल्याएका छौँ । यहाँको मुख्य आम्दानीको स्रोत रहेको जडीबुटी खेतीमा किसानलाई प्रोत्साहन गरेका छौँ । जडीबुटी निर्यात र उत्पादन सहज बनाउन गाउँपालिकाले कार्यक्रम ल्याएको छ । स्थानीय क्षेत्रमा फस्टाउने बोट बिरुवाको नर्सरी राखेर वन संरक्षण र जैविक विविधता जोगाउने कार्यक्रम चलिरहेको छ । अल्लोको उत्पादनलाई व्यावसायिक बनाउँदैछौँ । विविध जातजातिको बसोबास रहेको गाउँपालिकामा बहुजातीय साँस्कृतिक सङ्ग्रहालय निर्माण गर्दैछौँ । यहाँका गुम्बा, मठमन्दिर, चर्च लगायतका लागि मात्रै हरेक वर्ष एक करोड रुपियाँभन्दा धेरै बजेट खर्च हुँदै आएको छ । महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिकलगायत सबैलाई कार्यक्रमले समेटेको छ । यहाँको खेलकुद, स्वास्थ्य, शिक्षालगायत क्षेत्रको समग्र विकासमा लागेका छौँ ।

स्थानीय सरकारलाई कानुन बनाएर कार्यान्वयन गर्ने अधिकार छ । समस्या पनि भए होला ?

हामीले केही कानुन बनायौँ, अझै केही बनाउन बाँकी छन् । बनाएका कानुन लागू गरेका छौँ । स्थानीय जनप्रतिनिधिको आम सहमतिमा बनाएका कानुन गाउँपालिकाको साझा दस्ताबेज हो । सबैले त्यसमा अपनत्व लिएको अनुभव भएको छ ।

सङ्घीय र प्रदेश सरकारसँगको समन्वय र सहकार्य कस्तो छ ?

सङ्घीय सरकारसँग हरेक कार्यक्रम र योजनाहरूको छलफल हुन्छ । अत्यन्त राम्रो समन्वय र सहकार्य भइरहेको छ । यहाँको आवश्यकताअनुसार हामी सङ्घीय सरकारलाई योजना माग गर्छाैं । आएका योजना कार्यान्वयन गर्न पनि सङघीय सरकारले स्थानीय सरकारसँग समन्वय गरिरहेको छ । तर दुःखको कुरा भन्नुपर्छ, प्रदेश सरकारसँग हाम्रो समन्वय भएन । प्रदेश सरकारले गाउँपालिकाका कुन स्थानमा कुन योजना कार्यक्रम ल्याएको छ भन्नेसम्म हामीलाई थाहा हुँदैन । हामीले मुख्यमन्त्री, मन्त्रीहरुसँग छलफल गरेर, प्रदेश सरकारबाट दर्जनौँ योजना ल्याएका छौँ । तर कार्यान्वयन गर्ने बेलामा चाहिँ प्रदेश अन्तर्गतका जनप्रतिनिधि र कार्यालयले समन्वय नै गर्दैनन् । स्थानीय आवश्यकताभन्दा फरक पारेर प्रदेशले योजना सञ्चालन गरेको पनि पाइएको छ ।

गाउँपालिकाकै अन्य जनप्रतिनिधि–कर्मचारीसँगको सम्बन्ध चाहिँ कस्तो छ नि ?

गाउँपालिकामा सबै एउटै दलबाट विजयी भएकाले अत्यन्त राम्रो सम्बन्ध, समन्वय छ । हामी हरेक काममा छलफल गर्छाैं, सल्लाह गर्छाैं, बैठक, भेला गर्छाैं । हाम्रो साझा लक्ष्य प्राप्ति गर्न साझा प्रयास हुन्छ । कर्मचारीहरुले पनि राम्ररी सहयोग गर्नुभएको छ । सबैको समन्वय र सहकार्यले नै गाउँपालिकाको काम सहज भएको छ ।

स्थानीय स्रोत साधन परिचालन र जनसहभागिता स्थानीय तहको मूल मन्त्र नै हो । यसमा तपाईँहरुको ध्यान गएको छ कि छैन ?

हामीले स्थानीय स्रोत साधन परिचालनलाई उच्च प्राथमिकता दिएका छौँ । योजना छनोटदेखि कार्यान्वयन सम्ममा स्थानीय जनताको सहभागिता सुनिश्चित गर्दै आएका छौँ । हामी जनप्रतिनिधि टोल–टोलमा जान्छौँ । त्यहाँ स्थानीयसँग छलफल गछौँ र स्थानीय आवश्यकता अनुसारका योजना छानिन्छन् । वडाले ती योजना गाउँपालिकासम्म ल्याएपछि गाउँपालिकाले प्राथमिकताका आधारमा पास गर्छ । योजना कार्यान्वयनमा पनि स्थानीयको भूमिका हुन्छ ।

सन्दकपुर गाउँपालिका भारतसँग पनि जोडिएको छ । सीमाक्षेत्रको गाउँपालिका भएकाले अरु समस्या पनि होलान् नि ?

भारतीय सीमा जोडिएको क्षेत्रमा पूर्वाधार निर्माण गर्न अवरोध भइरहेको छ । सीमा र दशगजामा त विवाद भएकै छ, दशगजाभन्दा टाढा नेपालपट्टि पर्यटकीय पूर्वाधार तयार गर्नसमेत बेलाबेला भारतीय पक्षबाट अवरोध आउने गरेको छ ।
तर हामीले आफ्नो तहबाट भारतीय समकक्षीसँग पनि छलफल गरेका छौँ । कहिलेकाहीँ समस्या समाधान भए जस्तो र कहिले उही समस्या दोहोरिने भइरहेको छ । त्यतिमात्र होइन, सीमा क्षेत्रका नेपालीले भारतीय पक्षबाट दर्जनौँपटक ज्यादति खेप्नुपरेको छ । अहिले त्यो क्रम चाहिँ केही मत्थर छ । यहाँको समस्या सङ्घीय सरकारलाई समेत जानकारी नै छ ।

प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]