चैत्र १५, २०८० बिहीबार

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

काठमाडौं । तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको प्रहरी कार्यालयमा जानकारी दिएर जानुहोला । तपाईंको घर वा डेराको सुरक्षा नेपाल प्रहरीले गर्छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् ।

‘घर वा डेरामा बहुमूल्य सामान नराख्नुस्, घर वा डेराको सुरक्षामा शंका लागे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर जानुस्,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले राजधानीसँग भने ।

प्रहरीले दसैंलगायतका चाडलाई लक्षित गरी सुरक्षा योजना समेत लागु गरिसकेको छ । दसैंसहितका चाडमा हुन सक्ने सम्भावित घटना रोक्न र सुरक्षाका लागि भन्दै देशभर ४८ हजार ८ सय ३० जना प्रहरी जनशक्ति परिचालनसमेत गरिएको हो ।

डीआईजी पोखरेलले घर छाड्दा सोबारेको सूचना अथवा फोटो सामाजिक सञ्जालमा नराख्नसमेत भनेका छन् । यस्तै, नजिकका वा विश्वासिलो छिमेकीलाई हेरचाहका लागि आग्रह गर्न पनि भनेका छन् ।

‘कसैले पनि घर वा डेरा छाडेर अन्यत्र जाँदा सामाजिक सञ्जालमा लेख्ने वा फोटो राख्ने नगरौं, त्यसो गर्दा सुरक्षामा असर पर्छ । बरु नजिकको वा विश्वासिलो छिमेकीलाई हेरचाह गर्न भनौं,’ डीआईजी पोखरेलले भने ।

प्रहरीले सुरक्षा जोखिम मानिएका क्षेत्रमा कुकुर र ड्रोनको समेत प्रयोग गर्ने सुरक्षा योजनामा उल्लेख छ । यसबाहेक हरेक क्षेत्रमा आपतकालीन फोर्ससमेत रहनेछन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले हरेक प्रदेशमा डीआईजी र जिल्लामा प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड फोर्ससमेत राखिएको बताए । सो फोर्सले आपतकालीन अवस्थामा प्रहरी परिचालनको अधिकार राखेको हुन्छ ।

प्रहरीले उपत्यकालाई एक प्रदेश मानेर अन्य सात वटा प्रदेशका लागि खटिने जनशक्ति, संयुक्त चेकिङ र यात्रु सहायता कक्षसमेत राखेको छ ।

उपत्यकामा मात्रै ७ हजार ५ सय ५० जना प्रहरी परिचालन गरिएको छ । यस्तै सादा पोसाक, मोबाइल गस्ती, मोटरसाइकल गस्तीसमेत बढइएको छ । उपत्यकामा ५४ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ हुनेछ । यस्तै २९ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।

प्रदेश १ मा ७ हजार ९ सय २२ जना प्रहरी खटाइएको छ । प्रदेश २ मा ७ हजार ३ सय १० जना, बाग्मती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बाहेक ४ हजार १ सय ५३ जना प्रहरी खटाइएको छ ।

यसैगरी, गण्डकी प्रदेशमा ५ हजार ३ सय ३ जना, लुम्बिनी प्रदेशमा ७ हजार ८ सय २५ जना, कर्णाली प्रदेशमा ३ हजार ७ सय १७ जना र सुदूरपश्चिममा ५ हजार ५० प्रहरी परिचालन गरिएको छ ।

यसरी खटिने प्रहरीहरूले देशभर ४ सय ९० स्थानमा चेकजाँच गर्नेछन् भने २ सय ६४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : कार्तिक ७, २०७७ शुक्रबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]