चैत्र १५, २०८० बिहीबार

दसैँमा आपराधिक घटनामा कमी

झापा । यसपाली मुलुकमा दसैँको मुख्य दिनमा ठूला दुर्घटनाहरु भएनन् भने आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घटना तथा दुर्घटना कम भएको हो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत यसपटकको दसैँँको मुख्य पाँच दिनको विवरण हेर्दा ठूलो तथा गाह्रो अवस्था सिर्जना हुने घटना नभएको बताउँछन् । सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा प्रहरी र कुकुर तथा ड्रोनसमेतको प्रयोग गरिएकाले पनि त्यस्ता घटना रोक्न सफल भएको उनको दावी छ ।

दशैंँको मुख्य दिन कात्तिक ७ देखि ११ गतेसम्मको प्राप्त विवरण अनुसार यसपाली करणीसम्बन्धि ४ वटा घटना दर्ता भएको छ । कर्तव्य ज्यानका ११, चोरीका १६ घटना दर्ता भएको कडायतले बताए । यस्तै यो अवधिमा ३३४ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनाका कारण ४३ को मृत्यु भएको र ५१९ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समग्रमा दसैँको समयमा सबै घटनाहरु न्युन रहेको प्रहरीले जनाएको छ । यस बीचमा ठूला दुर्घटना पनि हुन पाएन । सवारी साधन समेत अत्यन्त न्यून रुपमा सञ्चालन भएको थियो ।

गत वर्ष दसैँको घटस्थापनादेखि पूर्णिमासम्म १५ दिनमा चोरीका ६६ र करणीसम्बन्धीका ५० घटना भएको अभिलेख छ । उक्त अवधिमा ७०० सवारी दुर्घटनामा १११ को मृत्यु भएको थियो । काठमाडौँ उपत्यकामा पनि सवारीसम्बन्धी ठूला घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख भीमप्रसाद ढकालले उपत्यकाको तीन जिल्लामा २९४ सवारी दुर्घटनामा ९ को मृत्यु भएको  र २७८ जना घाइते भएको जानकारी दिए ।

अघिल्लो वर्ष भने ४०० भन्दा बढीको दुर्घटना भएको थियो । त्यसमा १० जनाको मृत्यु र ३१८ जना घाइते भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]