बैशाख ८, २०८१ शनिबार

त्यो कार्तिक १६, यो कार्तिक १६

चेतन अधिकारी

तीन वर्ष अघि अर्थात २०७४ साल कार्तिक १६ गते नेकपाका नेता र कार्यकर्ताको लागि असीम खुशीको दिन थियो । मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने दिन थियो । त्यो उम्मेदवारी दर्ता विगतका चुनावको भन्दा फरक र थप उत्साहजनक थियो । किनकि त्यसबेला नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ले  गठनबन्धन गरेर अन्य पार्टीका विरुद्ध चुनाव लड्दै थिए । 

खुनी सम्बन्ध भएका यी दुई दलको गठबन्धन आफैंमा रोचक र धेरैका लागि अपत्यारिलो सहकार्य थियो । तर यो गठबन्धनलाई पार्टी एकतासम्म पु¥याउने दृढ अठोट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा थियो । ओलीको अठोटलाई तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दर्विलो साथ दिनुभएको थियो । यो गठबन्धनले विभाजित कम्युनिष्टहरुलाई एउटै बाकसमा मत खसाल्ने वातावरण बनाउँदै थियो भने बहुमतलाई अल्पमतले शासन गरिरहेको नेपालको परम्परागत राजनीतिलाई क्रमभंग गर्दै थियो । यो नयाँ अभियानलाई दुवै कम्युनिष्टका सबै नेता कार्यकर्ताले हार्दिकतापूर्वक स्विकारेका थिए । लाग्थ्यो चाहना नहुँदा नहुँदै छुटेका प्रेम जोडीको अप्रत्यासित मिलन जस्तै थियो त्यो बेलाका कम्युनिष्ट कार्यकर्ताको उत्साह, हार्दिकता र आत्मियता ।

त्यो कातिक १६ मा केपी शर्मा ओलीले झापाको निर्वाचन क्षेत्र नं. ५ बाट वामगठबन्धनको साझा उम्मेदवारी दिनुभयो भने पुष्पकमल दाहालले चितवन –३ बाट उम्मेदवारी दिनुभयो । जिल्ला निर्वाचन कार्यलय झापामा बसेर ओलीले देशैभरीका वाम गठबन्धनको उम्मेदवारीको मनोनय रोमाञ्चित पारामा हेर्नुभएको थियो । ओली रोमाञ्चित हुने कारण निकट भविष्यमा मुलुकको बागडोर आफ्नो जिम्मामा आउने मिठो सपना मात्र थिएन: देशमा स्थिरताको बिजारोपण हुने, एउटै सरकार पाँच वर्षसम्म सञ्चालन हुने, जनताको गरिबी, अशिक्षा र स्वास्थ्यमा सरकारको साथ सहयोग रहने र राजनीतिक मुद्दालाई किनारा लाएर विकास र समृद्धिको महायात्रामा पाइलो सार्ने अभियानको प्रस्थानविन्दु थियो त्यो कार्तिक १६ । जसले ओलीलाई थप रोमाञ्चित पारेको थियो । 

जनताको सपनाको रुपमा रहेको राजनीतिक स्थिरतालाई यर्थाथमा परिणत गर्न कार्तिक १६ देखि मंसिर १८ सम्मका ३२ दिन केपी ओलीको धपेडी कमैले मात्र अनुमान गर्न सक्लान् । त्यसबेलाका दुवै पार्टीको अध्यक्षहरु हरेक चुनावी आमसभामा सरिक हुने भनिए पनि दाहाललाई पुत्रशोक परेका कारण धेरै आमसभामा उहाँ जानुभएन । जसले गर्दा दाहालको बोझ पनि ओलीकै थाप्लोमा आइलाग्यो । 

बिरामी अवस्थाका ओलीको दौडधुप कात्तिक १९ गते ताप्लेजुङमा योगेश भट्टराईको आमसभाबाट औपचारिक रुपमा सुरु भएको थियो । ताप्लेजुङबाट सुरु भएको ओलीको चुनावी यात्रा डडेलधुरासम्म मात्र सीमित भएन, बरु झापादेखि कञ्चनपुरसम्मका करिब १ सय ५० वटा आमसभालाई उहाँले सम्बोधन गर्नुभयो । ती अधिकांश आमसभाको साक्षीको रुपमा रहेको यस पंक्तिकारलाई के सम्झना छ भने ओलीले एकैदिन १० वटासम्म चुनावीसभालाई सम्बोधन गर्नुभएको थियो । मंसिर ६ गते चितवनबाट सुरु भएको सम्बोधन नवलपरासी, रुपन्देही, कपिलवस्तुहुँदै दाङसम्म पुग्दा साँझ साढे ६ बजेसम्ममा ओलीले १० वटा सभालाई सम्बोधन गर्नुभएको थियो । त्यसबेला उहाँको दैनिकी बिहान ८ बजे देखि राति १ बजेसम्म जागा हुन्थ्यो ।  धनुषाबाट चुनावमा प्रतिष्पर्धा गरेका वाम गठबन्धनका उम्मेदवार मातृका यादव ओलीको आर्शिवाद लिएर ६ मंसिरको बिहान १ बजे चितवनबाट धनुषा फर्किनु भएको थियो । 

२०७४ को मंसिरको अन्तिम सातातिर निर्वाचन आयोगले नेकपा (एमाले) लाई सबभन्दा ठूलो दल घोषणा गरेको हो । त्यसपछि माओवादी केन्द्रलाई दोस्रो ठूलो दल, यी दुवै दल मिल्दा करिब दुई तिहाइको नजिकको बहुमतमा वाम गठबन्धन थियो । तर काङ्ग्रेसले झण्डै तीन महिनापछि फागुनमा मात्र सत्ता छोड्यो । यी तीन महिना नेकपा माओवादीलाई प्रलोभनमा पारेर एमालेसँग दरार उत्पन्न गराउन सकिन्छ कि भनेर काङग्रेसले बिताएको समय थियो । त्यसैबेला थोर बहुत दोधार कमरेड प्रचण्डमा आएकै हो । त्यही भएर पार्टी एकता र सरकार गठनका सघन वार्ता छोडेर उहाँ बेला, कुबेलै आफ्नो निर्वाचन क्षेत्रतिर जाने गर्नुहुन्थ्यो । त्यसबेला काङ्ग्रेससँग मिलेर पो सरकार बनाउ कि भन्ने दोधारमा फसेका प्रचण्ड पूर्व सहमतिमा ढिलै भए पनि फर्कनुभयो र वाम गठबन्धनको सरकार बन्यो । तर सरकार बनेको केही महिना नबित्दै केपी ओली विरुद्ध विभिन्न तुरुपहरु फालिन थाले । खासगरी पूर्व एमाले भित्रका नेताहरुलाई भिडाएर आफू सत्तामा जाने प्रचण्डको उत्कट अभिलासाको आरोह अवरोह अहिले फेरि चरमचुलीमा छ । पटक–पटकका यस्ता प्रयास असफल भए पनि उहाँको यो अभियान निरन्तर जारी छ । युद्धकालमा माओवादीहरु युद्ध विरामलाई शक्ति सञ्चयको रुपमा उपयोग गर्थे । अहिले प्रचण्ड शैली त्यस्तै छ । 

ओलीसँग अनेक विवाद गर्ने, सरकार सञ्चालनमा अवरोध गर्ने, पार्टी सञ्चालनमा ध्यान नदिने, माग कार्यकारी अध्यक्षको गर्ने दृष्टि प्रधानमन्त्रीको कुर्सीमा लगाउने प्रचण्डको अविछिन्न प्रयासले नेकपा अहिले गम्भीर मोडमा आएको छ । २०७२ को भूकम्प आएपछि एकजना भूकम्पविद्धले भनेका थिए भाग्यले पटक पटक बचाउँदैन । बच्नका लागि घरको जग बलियो बनाउनु पर्दछ । त्यस्तै नेकपालाई विगतको विवाद र गलफत्तीमा नियतिले बचायो तर त्यसबाट पाठ सिकेर पार्टीको जग बलियो बनाउनेतिर कार्यकारीको ध्यान गएको छैन । 

प्रचण्ड कार्यकारी अध्यक्ष भएको एकबर्ष हुनलाग्यो । उहाँले कार्यकारी अधिकार हातमा लिएपछि नेकपामा के नयाँ कार्यक्रम आयो ? नेता कार्यकर्ताले पार्टी के नयाँ जिम्मेवारी पाए ? देशव्यापी रुपमा पार्टीले के अभियान सञ्चालन ग¥यो ? एकताका बाँकी काम किन पूरा भएनन् ? कोरोना महामारीको बेला नेकपा कार्यकर्तालाई सचेतनाका लागि कहाँ कसरी खटाइएको छ ? अधिकांश स्थानीय तहमा नेकपामा नेता कार्यकर्ता जनप्रतिनिधि छन्, उनीहरुलाई पार्टीले के कस्तो कार्यदिशा दिएको छ ? यी सब कुराको जवाफ कार्यकारी अध्यक्षले नेकपा वृत्तलाई दिनुपर्छ कि पर्दैन?

लामो रस्साकस्सीपछि संगठन विभाग प्रमुखको जिम्मेवारी पाउनु भएका वामदेव गौतमले नेकपाको संगठन कति मजबुत बनाउनु भयो ? नेकपा कार्यकर्ताले यसको जवाफ खोजेका छन् अहिले । गौतमलाई संगठन विभागको जिम्मेवारी दिएकै बेला नेकपा कार्यकर्तालाई उहिले गौतमले नेतृत्व गरेको नेकपा मालेको झल्को आएको थियो । 

प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टीको होइन गुटको बोली बोल्नुहुन्छ । जसले गर्दा आम कार्यकर्तामा पार्टी र सरकारका बारेमा अन्यौल सृजना भएको छ । यी सबै कमजोरीको भारीचाँही प्रधानमन्त्री केपी ओलीलाई बोकाउन सबैलाई सजिलो भएको छ । प्रधानमन्त्रीले÷सरकारले काम गरेन भनेर आफूले नगरेको कामको ढाकछोप गर्ने माध्यम खास खास नेतालाई प्राप्त भएको छ । सरकारलाई रचनात्मक सुझाव र निर्देशन दिनु पार्टीको कर्तव्य हो । पार्टीका निर्णय लागू गराउनु कार्यकारी अध्यक्षको दायित्व हो । कार्यकारी अध्यक्ष पार्टीको संस्थापन हो । कार्यकारीले गुट विशेषका भेला र बैठकको आयोजना गरेर पार्टीकै विरुद्ध, पार्टीले नेतृत्व गरेको सरकारका विरुद्ध बिष बमन गर्दै हिड्न मिल्छ ? 

सारमा के भन्न सकिन्छ भने प्रचण्डले अहिले पनि आफूले पूर्व पार्टीमा गरेको अभ्यास नेकपामा गर्दै हुनुहन्छ । जसलाई नेकपाका कार्यकर्ताले रुचाएका छैनन् । उहाँ नेकपाको अध्यक्ष र नेता हुने कि गुटको ? अहिले उहाँले सरकार र अध्यक्ष केपी ओलीका विरुद्ध गरेको तिकडमलाई कार्यकर्ताले महाधिवेसनमा मूल्याङ्कन गर्नेछन् । प्रचण्डले बुझ्नु पर्ने कुरा के हो भने नेकपामा उहाँ दोस्रो अध्यक्ष मात्र होे । पहिलो अध्यक्ष त केपी ओली नै हो । पहिलो र दोस्रो भेद र सीमा सबैले बुझ्नु पर्दछ । 

प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार  २ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]