विर्तामोड–भद्रपुर सडक खण्ड : भुक्तानीका कारण कालोपत्रे अन्योलमा
बिर्तामोड । झापाको विर्तामोडस्थित भद्रपुर रोडमा निर्माण व्यवसायीले सोमवार देखि अन्तिम बेस हाल्न थालेका छन् । कालोपत्रेका लागि अन्तिम बेस हालिए पनि कालोपत्रे हुनेमा स्थानीय ढुक्क छैनन् ।

०७५ असारमा सम्झौता भई थालिएको बिर्तामोड–भद्रपुर सडक खण्डको ४.७ किमि कालोपत्रे अडाई वर्षमा पनि निर्माण पुरा भएको छैन । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम मिति ०७६ असोज २३ मा थियो । सडक निर्माणको काम जिम्मा लिएको निर्माण कम्पनी आशिष पे्ररा जेभीले पहिलो चरणमा पेटी कन्ट्राक्टमा काम दिएको थियो । पेटीमा काम गर्ने राजकिशोर गुप्ताबाट काम नहुने भएपछि अहिले झापाका निर्माण व्यवसायी केदार गिरीले उक्त सडक निर्माणको काम पाएका छन् ।
सोमवारदेखि अन्तिम बेस हाल्न थालेका कञ्चन निर्माण सेवामा गिरीले कालोपत्रेको काम शुरु गरेको जानकारी दिएका छन् । उनले सडक डिभिजनले पैसा रोकेका कारण समयमै कालोपत्रे शुरु गर्न नसेकेको स्वीकार गरे । उनले भने, भुक्तानी नपाए पनि अन्तिम बेस हाल्न थालेको छु । ६÷७ दिनभित्र पैसा नपाए काम अघि बढ्दैन । गिरीले आफु स्थानीय निर्माण व्यवसायी भएकाले पैसा विना पनि काम थाल्न दवाव परेको बताए । पैसा पाइयो भने, तिहार अघि कालोपत्रे शुरु हुन्छ , नत्र हुदैन । दशैंभन्दा अघि भुक्तानी दिने सडक डिभिजनले भुक्तानी रोकेका कारण समयमा काम थाल्न नपाएको गिरीको गुनासो छ । उनले सडक डिभिजनको यस्तो व्यवहार हुने भए अन्य व्यवसायीले काम समेत गर्न नसक्ने दावी गरेका छन् ।
दशैंअघिबाट कालोपत्र हुने ठुलो आशा बोकेका विर्तामोडवासीको सपना तिहारअघि पनि पुरा हुने, नहुने टुङ्गो छैन । निर्माण व्यवसायी र सम्वन्धित सरकारी निकाय विचको समस्याका कारण बिर्तामोड क्षेत्र लामो समयदेखि प्रभावित बनेको छ । कालोपत्रेका लागि तयारी अवस्थामा राखिएको सडक समयमै कालोपत्रे हुन नसक्दा धुलाम्मे हुने गरेको छ । धुलोका कारण विर्तामोड क्षेत्रका व्यवसायी, सर्वसाधारण समस्या परेका छन् ।
२७ करोडभन्दा बढि लागतमा कालोपत्रे र नाली निर्माणको काम ठेक्का लगाइएको थियो ।