बैशाख १३, २०८१ बिहीबार

लाइन मात्रै खाने हो ? : सम्पादकीय

सीमा क्षेत्रमा सुरक्षाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीमाथि चौतर्फी शंका उब्जिएको छ । कोरोना महामारीले सीमामा आवतजावत कडाइ गरिएको छ । तर, झापाको पूर्व र दक्षिण क्षेत्रका सीमाबाट हरेक दिन ठुलो मात्रामा विभिन्न सामग्री भित्रिदाँ सशस्त्र प्रहरीको डिउटीमाथि प्रश्न उठ्न थालेको छ । सीमाबाट हुने अवैध ओसारपोसार नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीको ध्यान अहिले कहाँ छ ? झापामा हदैसम्म विवादमा आइरहने सशस्त्र प्रहरी चाडवाडको समयमा हुने तस्करी रोक्न असफल देखिएको छ ।

झापाका बजारमा अहिले भारतबाट आयात गरिएका सामग्री छ्याप्छ्याप्ती पाइन्छ । सीमामा कमजोर सुरक्षाका कारण तस्करीबाटै नेपालमा व्यापार चलाउनेहरुलाई सहजता देखिएको छ । सीमामा यत्तिका कडाई हुँदा पनि सामान भित्रिनुले सशस्त्र प्रहरीको सुरक्षामाथि शंका पैदा गरेको छ । उनीहरुकै कारण व्यापारी तस्करीको धन्दा चलाइरहेका छन् वा व्यापारीको ‘लाइन’ खानै मस्त सशस्त्र प्रहरी विना भन्सार सामान ओसारपसारमा सहयोग गर्दै आएका छन् ?

जनपथ प्रहरीले हरेक दिन भारतबाट अवैध रुपमा आयात हुने सामग्रीको विवरण सार्वजिनक गर्दै आएको छ । बरामद गरेका सामग्री भन्सार बुझाएको जानकारी गराइदैं आएको छ । तर, जनपथ प्रहरीले पनि अवैध रुपमा सामान ल्याउने व्यापारी, तस्करको नाम सार्वजनिक गर्न सकेको छैन । नाम लुकाए वापत प्रहरीलाई कस्तो उपहार मिल्छ ? प्रहरीले यसलाई स्पष्ट पार्न जरुरी छ । जिल्लाको सुरक्षामा खटिएका राष्ट्र सेवकमाथि आम नागरिकबाट शंका उब्जनु राम्रो होइन । यसैले सशस्त्र प्रहरीले सीमा सुरक्षामा विशेष ख्याल गर्न जरुरी छ । सशस्त्र प्रहरीका जिल्ला प्रमुखले यसबारे आफ्ना मातहतका कार्यलयलाई कडा निर्देशन दिन जरुरी छ । यदि, सशस्त्र प्रहरीले पनि कडाई गर्नसकेमा राज्यलाई नोक्सान हुने थिएन । बजारमा तस्करको रजगज पनि बन्द हुने थियो ।

प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]