बैशाख ६, २०८१ बिहीबार

कोरोनाबाट झापाका दुईसहित प्रदेश १ मा थप पाँच जनाको मृत्यू

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ जना कोरोना स‌ंक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा झापाका २ जना, मोरङका २ जना र सुनसरीका एकजना छन् । ४ जनाको अस्पताल र एकजनाको घरमै मृत्यु भएको हो ।

फाइल तस्वीर : इजलास

नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा तीनजनाको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको छ । ४ कात्तिकमा भर्ना भएका उनीमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या थियो । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी महिलाको तीन सातापछि मृत्यु भएको प्रबन्धक दाहालले बताए ।

सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहीबार बिहान करिब ८ बजे मृत्यु भएको छ । ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई बुधबार नै कोरोना पोजेटिभ देखिएको थियो ।

मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहीबार बिहान करिब ७ बजे मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि उनलाई १७ कात्तिकमा उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।

झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ज्यान गएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो । पीसीआर परीक्षण गराउँदा बुधबार नै पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । १५ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि उनी घरमै बसेकी थिइन् । श्वास फेर्न गाह्रो भएर स्वास्थ्यमा एक्कासि समस्या आए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार  १ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]