मंसिर १९, २०७७ शुक्रबार

विद्यालयमा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू नगर्न निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्न निर्देशन दिएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था हेरेर भौतिक रुपमै विद्यालय सञ्चालनको अनुमती दिएको मन्त्रालयले विद्यार्थी आवतजावतमा बाधा पर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हो ।

‘विद्यालय र विद्यालय परिसर भित्र तथा विद्यार्थी आवागमनमा प्रतिकुल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरू नराख्ने’, मन्त्रालयद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा भनिएको छ ।

यसअघि क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग भएका विद्यालयहरूलाई सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम निर्मलीकरण गर्न सम्बन्धित स्थानीय तहहरूलाई भनिएको छ ।

स्थानीय तहहरूलाई जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनुसार आफ्नो क्षेत्रभित्रका विद्यालयहरूको अवस्था विश्लेषण गरी विद्यालय बन्द वा पुनःसञ्चालनको अधिकार दिइएको छ ।

विद्यालय पुनः सञ्चालन सम्बन्धी निर्णय लिंदा उपलब्ध भएसम्म जनप्रतिनिधि, शिक्षाविद्, शिक्षक महासंघ, विद्यालय सञ्चालका छाता संगठनका पदाधिकारी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघका पदाधिकारी, स्वास्थ्यकर्मी, बाल युवा क्लबका पदाधिकारी र सदस्यहरूसंग परामर्श लिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट