बैशाख ६, २०८१ बिहीबार

सीमामा एसएसबीको सक्रिया बढ्यो : सम्पादकीय

गत वर्ष यस्तै बेला गौरीगञ्ज गाउँपालिकामा एसएसबीले सीमा अतिक्रमण गरेको घटना सनसनी भएको थियो । नेपाली नागरिकको घर आगनमै सीमा स्तम्भ गाढेर भारतीय एसएसबीले अतिक्रमणको प्रयास गरेका थिए । तर, स्थानीयले त्यो स्तम्भ उखेलेर फ्यालिदिए । ठ्याक्कै एकवर्ष पछि अहिले एसएसबीले नेपाली भूभागमा अनैतिक हिसावमा सक्रियता बढाएको छ । सक्रियताको मक्सद् भनेको सीमा स्तम्भ सार्नु नै देखिएको छ । भारतीय एसएसबीले सीमा क्षेत्रमा अनावश्यक सक्रियता देखाएर सीमा अतिक्रमणको प्रयास गर्दै आएका छन् । उनीहरुको सक्रियताले स्थानीय नेपाली नागरिक त्रसित पनि छन् ।

पछिल्लो केहि दिन यता भारतीय एसएसबी हातहतियार सहित नेपाल प्रवेश गर्ने गरेको स्थानीय नेपाली नागरिकले बताइरहेका छन् । सीमामा हतियारसहित प्रवेश गर्ने एसएसबीले सीमा स्तम्भ भत्काउने, नयाँ खाल्डोहरु खनेर छोडिदिने लगायतका गतिविधि बढाइरहेका छन् । उनीहरुको गतिविधिबारे नेपाली प्रशासन जानकार छैन । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले समेत माथिल्लो निकायमा एसएसबीको गतिविधि बारे जानकारी गराइरहेका छैनन् । सीमाको मुख्य जिम्मेवार सुरक्षा निकायले समेत प्रभावकारी भूमिका निर्वाह नगरेको गुनासो बढ्न थालेको छ ।

देशको माटो मिचिदाँ नेपालीलाई पक्कै दुख्छ । सीमामा जीवनयापन गरिरहेका सीमा रक्षक नेपाली नागरिकलाई हरपल सीमाको चिन्ता छ । तर, जिल्लामा सीमा सम्बन्धमा समेत काम गर्ने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालयले त्यसबारे खासै चासो दिएको छैन । सीमा सुरक्षामा कडाई गर्ने निकायले नै वेवास्था गरेपछि एसएसबीको अवस्य गतिविधि बढ्छ । अहिले गौरीगञ्ज–२ मा रहेको १९ नम्बरको पिल्लर भत्काइएको अवस्थामा छोडिएको छ । १४३÷३ नम्बरको पिल्लर नजिकै नेपाल तर्फ नयाँ खाल्डो खनिएको छ । स्थानीयका अनुसार एसएसबीले सो पिल्लर सार्न नयाँ खाल्डो खनेका हुन् । सीमामा यत्तिका अत्याचार हुँदा नियामक चुप बस्न हुदैन । सामान्य कमजोरीका कारण नेपाली भूभाग गुमाउन नपरोस् । सरोकारवालाको ध्यान जाओस् ।

प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]