बैशाख १३, २०८१ बिहीबार

झापाका दुई वडाध्यक्ष एक वर्षदेखि फरार

बिर्तामोड । झापाका दुई वडाध्यक्षहरु प्रहरीको सर्वाधिक खोजीमा छन् । गैर नेपालीलाई नागरिकता बनाइदिएको आरोपमा उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ । दुवै अध्यक्ष एक वर्षदेखि फरार रहेका छन् । प्रहरी भन्छन्, केहि व्यक्तिको नजिकमा पुगिएको छ ।

विर्तामोड–८ का अजय कार्की (जंगे) र भद्रपुर – ९ का शनिलाल राजवंशी सहित सो प्रकरणमा संलग्नहरु फरार रहेको झापा प्रहरीले जनाएको छ । वडाध्यक्ष समेतको संलग्नतामा १६ जना गैर नेपालीलाई नागरिकता दिइएको प्रहरीको भनाइ छ । कार्कीको वडामा दीपक भट्टराई कार्यबाहक भएर काम गरिरहेका छन् भने राजवंशीको वडामा रामप्रसाद दाहाल कार्यबहक अध्यक्ष छन् । कार्की राप्रपाबाट निर्वाचित अध्यक्ष हुन भने राजवंशी नेकपाबाट निर्वाचित भएका थिए ।

उनीहरुसहित जिल्ला प्रशासन कार्यालयका अधिकृतसहित ६ जना कर्मचारी, २ जना वडा सचिवसहित ४८ जनाका लागि पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले अनुसन्धानको क्रममा प्रमुख प्रशासकीय अधिकृत समेतको संलग्नता देखिएको जनाएको छ । स्रोत भन्छ, ‘कार्की काठमाडौं छन् भने राजवंशी पूर्वी नाका पारी पानीट्याङकी क्षेत्रमा आफन्तको घरमा बस्दै आएका छन् । उनीहरु दुवै जना घर आउजाउ गर्दै आएका छन् ।’

नागरिकता प्रकरण सार्वजनिक भए लगत्तै झापा प्रहरीले बिर्तामोड ८ का वडासचिव लोकराज बराल, जिल्ला प्रशासन कार्यालयका खरिदार तेजेन्द्र न्यौपाने, नागरिकतामा सनाखत गर्ने बिर्तामोड ७ का मुस्तफा आलम, बुबा बनेर नागरिकता बनाइदिने ताप्लेजुङका टेकबहादुर गुरुङ तथा बिचौलियाहरु भद्रपुरका प्रेमराज तिम्सिना र बिर्तामोडका भीमबहादुर लिम्बू पक्राउ परेका थिए ।

गैर नेपालीलाई नागरिकता दिएको घटनामा संलग्न प्रशासन कार्यालयका गौरभ ढुङ्गेल अझै कारागारमा छन् । प्रहरीले सुरेश आचार्यलाई काठमाडौंबाट पक्राउ गरेको थियो । आचार्य १ लाख धरौटी बुझाएर छुटिसकेका छन् । यस्तै, अदालतमा हाजिर भएर प्रशासनका कर्मचारी अरुणा भट्टराई र मेघराज निरौला ५÷५ लाख धरौटी बुझाइसकेका छन् ।

उनीहरुले ताप्लेजुङका टेकबहादुर गुरुङलाई बुबा बनाएर ८ जनालाई नक्कली नागरिकता बनाइदिएको झापा प्रहरीको भनाई छ । भद्रपुर ९ का नरबहादुर पाख्रिन बुबा बनेर दुई जनालाई, बिर्तामोड ८ का सुरेश अग्रवाल, त्यही वडाका सुशीलकुमार दास, नजिम मोद्दिन र निमा शेर्पा तथा भद्रपुर ९ का राम साह र नरबहादुर गुरुङ बुबा बनेर नक्कली नागरिकता बनाइदिएका थिए । ती नागरिकताहरु भद्रपुर ९ को ठेगानामा ६ वटा, बिर्तामोडको ५, शरणामति ३ र बाहुनडाँगीको ठेगानाबाट २ वटा बनाइएका छन् ।

१६ वटा नक्कली नागरिकता बनाउन १७ जनाले सनाखत गरेको प्रहरीको भनाई छ । शरणामति ठेगाना रहेका नागरिकतामा झापा गाउँपालिका ६ नम्बर वडा कार्यालयमा सचिव भवकृष्ण न्यौपानेको समेत संलग्नता देखिएको थियो । प्रहरीकाअनुसार नक्कली नागरिकता बनाउन भद्रपुरका सूर्यबहादुर खड्का, प्रेमराज तिम्सिना तथा बिर्तामोडका भीमबहादुर लिम्बू र बागबीर तामाङले बिचौलियाको भूमिका निर्वाह गरेका थिए ।

उनीहरुले ०७३ मंसिर १३ गते लोवसाङ गुरुङ, ०७३ माघ ११ गते पेमा डोल्कर गुरुङ, डोल्मा गुरुङ र छिरिङ डिकी गुरुङ, ०७६ जेठ ६ गते छिरिङ शेर्पा, धोनसेर गुरुङ, नवाङ केचन तामाङ, वाङमो गुरुङ, डोल्मा गुरुङ, ०७६ जेठ १४ गते रिगजेन छोडेन गुरुङ, नवाङ शिराप गुरुङ, लाक्पा शेर्पा, सन्जय अग्रवाल, सन्जय साह, ०७६ जेठ २१ गते ज्योति विश्वास दास र अयुव आलमलाई नेपाली नागरिकता बनाईदिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले संलग्न व्यक्तिहरुसँग ‘लुकामारी’ जस्तै भइरहेको बताएका छन् । उनले फरार रहेका व्यक्तिहरुको निरन्तर खोजी गरिहेको जानकारी दिए । प्रवक्ता थापाले भने , – विभिन्न विधिबाट खोज्ने काम भइरहेको छ । धेरैको नजिक हामी पुगिसकेका छौं ।

प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]