बैशाख १५, २०८१ शनिबार

शिवसताक्षीमा अढाइ करोडको लागतमा तालिम केन्द्र निर्माण हुने

झिलझिले । शिवसताक्षी नगरपालिकामा अढाई करोडको लागतमा तालिम केन्द्र भवन निर्माण हुने भएको छ । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले चार तलाको दुई वटा तालिम केन्द्र भवन निर्माण गर्न लागेको हो । एक कार्यक्रमका बिच बुधबार भवनको शिलान्यास गरिएको छ । प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा गौतमले आफ्नो जाय जेथाबाट खरिद गरेको २२ धुर जग्गामा भवन निर्माण हुने भएको गोपाल गौरी दिगो विकास प्रतिष्ठानका झापा अध्यक्ष भद्र दुमी राईले बताए ।

उक्त भवनमा सिलाइ, ढाकाका आइटम, पार्लर र प्रतिष्ठानले उत्पादन गरेका वस्तुको प्रदर्शनी कक्ष रहने छन् । यो संगै प्रतिष्ठानको जन-सम्पर्क कार्यालय पनि भवनको एक कोठामा रहने छ । प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा गौतमका अनुसार २ करोड ५० लाखको लागतमा भवन निर्माण हुने भएको हो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले बनाउने भवनमा शिवसताक्षी नगरमा पहिलो पटक लिफ्ट जडान हुने भएको छ । सेवाग्राही र प्रशिक्षार्थीको सुविधाका लागि भवनमा लिफ्ट जडान हुने भएको हो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा कार्यालय रहेको उक्त संस्थाले प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतमबाट २२ धुर जग्गा अनुदान पाएको थियो । सोही जग्गा क्षेत्रमा अत्याधुनिक प्रकृतिको भूकम्प प्रतिरोधात्मक भवन निर्माण हुने भएको हो ।
प्रतिष्ठानकी अध्यक्ष गौतम एकल महिला हुन् । श्रीमान् र ३ छोराको अवसान भएपछि बिरक्तिएको मन बुझाउन सामाजिक क्षेत्रमा आपूm क्रियाशील रहेको उनले बताएकी छन् । ‘पीर खप्न नसकेर पटक पटक आत्महत्याको प्रयास गरे तर समस्यासँग भाग्नु भन्दा पनि जुध्न इच्छा भएर सामाजिक क्षेत्रमा क्रियाशील बनेकी हुँ,’ उनले भनिन् ।

भूकम्प, बाढी पीडित, हावाहुन्डरी, कोभिड–१९ जस्ता दैविक प्रकोप र माहामारीमा पीडित बनेका परिवारलाई राहत, पूर्नस्थापना गर्ने कार्यमा अग्रपंक्तिमा रहेकी इन्दिराको सामाजिक उत्तर दायित्वका काम अनुकरणीय रहेको स्वयम् जनप्रतिनिधिले बताउन थालेका छन् ।
भवन शिलान्यास कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद सावाँ, प्रदेश सांसद झलक दर्लामी मगर, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपालले गौतमको मुक्त कण्ठले प्रशंसा गरेका छन् । उनीहरुले भने, ‘समाजमा केहि गरौं भन्ने भावनाका मानिसको संख्या दिनानुदिन घट्दै गइरहेका बेला प्रतिष्ठानकी अध्यक्ष ईन्दिरा गौतमले समाज सेवाको बिंडो थाम्नुभएको छ । हामी जनप्रतिनिधिले दिने हौसला, वाहवाही र सहयोग कहिल्यै कमि हुने छैन ।’

प्रतिष्ठानकी केन्द्रीय सदस्य सीता ओझाले एकल महिलाको नेतृत्वमा स्थापित संस्था अन्य भन्दा अब्बल रहेको दाबी गरेकी छन् । अढाई करोडको लागतमा निर्माण हुन लागेको भवनबाट शिवसताक्षी नगरकै नगरबासी लाभान्वित हुने उनले बताएकी छन् । प्रतिष्ठानलाई हरेक तरहको सहयोग आवश्यक रहेकाले खुलेर सहयोग गर्न उनले नगरबासी र सरकारका प्रतिनिधिलाई आग्रह गरिन् । उनले भनिन्, ‘नगरको मात्र होइन, नगरबासीले पनि आफ्नो निजत्व भएको महसुस तालिम केन्द्रबाट गर्न सकुन् ।’ प्रतिष्ठानका अध्यक्ष भद्र दुमी राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव गणेश घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]