झापाका ८६ सहित थप १७ सय ३ जनामा संक्रमण पुष्टि, २३ जनाले ज्यान गुमाए
विर्तामोड । झापाका ८६ सहित पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा १००७ जना पुरुष र ६९६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
काठमाडौँ उपत्यकामामात्र ८२२ जना संक्रमित थपिएका छन् । यसमा ४४३ जना पुरुष र ३७९ जना महिला रहेका छन् । अहिले काठमाडौँ, भक्तपुर, ललितपुर, झापा र कास्कीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । मनाङ र डोल्पा संक्रमणमुक्त भएको छ ।
यो अवधिमा १२ सय ३६ जना निको भएका छन् । हालसम्म नेपालमा २ लाख १० हजार ६७१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९१।९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको कूल संख्या १४३५ रहेको छ ।
संक्रमित मध्ये १० हजार ९४४ जना होम आइसोलेसनमा छन् भने ३५४ जनाको आइसीयू तथा ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।