बैशाख १७, २०८१ सोमबार

नाका खुलाउन काँकडभिट्टामा दिनहुँ प्रदर्शन

झापा । नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ । प्रदर्शनको छैठौँ दिन आज नाकामा सयौँको उपस्थितिमा धर्ना र र्यालीको कार्यक्रम गरिएको थियो ।

स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले नाका खुलाउन माग गर्दै हस्ताक्षर सङ्कलन अभियान, शान्तिपूर्ण र्याली र धर्ना जस्ता कार्यक्रम गर्दै आएका छन् । आज भएको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले बताए । प्रहरीले काँकडभिट्टाको सडकमा भएको धर्नालाई बल प्रयोग गरी हटाएको थियो  । 

आन्दोलनको अगुवाई होटल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल सङ्घ झापाले गरेका छन् । जसमा स्थानीयवासीकोसमेत सहभागिता रहेको छ । कोभिड– १९ का कारण १० महिना अघिदेखि नाका बन्द हुँदा मेचीनगरको होटल लगायत समग्र व्यवसाय धरासायी भएको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले बताए ।

उनले सरकारले सबै क्षेत्र खुला गरिसकेका अवस्थामा नाका बन्द गर्नु उचित नभएको बताए । “यो नाका अन्तरराष्ट्रिय नाका हो”, उनले भने, “भारतलगायत भूटान, बङ्गलादेशसँग प्रत्यक्ष व्यापार हुँदै आएको नाका खुला नगर्दा हजारौंको रोजीरोटी खोसिएर भोकै बस्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।” प्रदेश नं १ का सांसद श्रीप्रसाद मैनालीलेसमेत सामाजिक सञ्जालमा सरकारले तत्काल नाका खुलाएर सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : पुष २, २०७७ बिहीबार  ११ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]