बैशाख १४, २०८१ शुक्रबार

‘व्यापारीकै मर्जी’ ले चलेको बिर्तामोडको बुधबारे हटिया : एक महिनाभित्र खाली गर्न निर्देशन

भाडा मासिक १२० मात्र

बिर्तामोड । झापाकै ठुलो बजारभित्र एउटा ओझेल परेको बजार छ । सबैको नजरमा ओझेल परेको बिर्तामोडकै पुरानो बजार हो – कृषि थोक उत्तरमा रहेको बुधबारे बजार । जहाँ व्यवसायीको आफ्नै नियम र मर्जी चलिरहेको छ । तीन दशकदेखि व्यवसायीकै मर्जिबाट चलिरहेको बुधबारे बजार व्यवस्थापन गर्न यसअघि धेरै प्रयास भए । तर, प्रयासहरु सफल बन्न सकेनन् । अहिले बिर्तामोड नगरपालिकाले बुधबारे बजार क्षेत्रको व्यवस्थापनमा चासो देखाएको छ । नगरपालिकाले १ महिनाभित्र त्यहाँ रहेका अस्थायी संरचना हटाउन सूचना नै जारी गरिसकेको छ ।

अत्यन्तै अव्यवस्थित र फोहोरै फोहोर रहेको बुधबारे बजार क्षेत्रमा व्यवसायीलाई व्यापारका लागि तत्कालिन अनारमनी गाविसले खुला गरेको थियो । व्यवसायीकै मर्जिमा चलिरहेको बुधबारेलाई राज्यपक्षबाट कुनै हेरचाह भएन । व्यवसायी कमाउने ध्यानमा मात्रै लागे । उनीहरुले त्यहाँको सरसफाई र व्यवस्थापनलाई चासो नै दिन सकेनन् ।

बुधबारे बजारलाई ‘बुधबारे हटिया’ भनेर चिनिन्छ । जहाँ साना घर नै बनाएर केहि परिवार व्यवसाय सहित बसोबास गर्दै आएका छन् । सो क्षेत्रमा किराना, कपडा, खाजा,साना होटल र गोसखान सञ्चालन गरिदैं आएको छ । अत्यन्तै चहलपहल हुने सो बजारको भाडा अचम्मैको छ । ६० रुपैयाँ महिनावारी भाडा तिर्दै बसेकाहरु अहिले १२० रुपैयाँ भएको बताउँछन् । पछिल्लो समय त्यहाँ भाडा समेत उठाउन छोडिएको छ ।

सानो होटल सञ्चालन गर्दै आएका गोपाल भट्टराई त्यहि बस्छन् । उनको आफन्तले सञ्चालन गर्दै आएको होटल अहिले गोपालको परिवारले चलाउदैं आएको छ । उनीहरु त्यहाँ बसे वापत भाडा पनि तिर्दैनन् । उनले नगरपालिकाले हटाए हट्न तयार भएको बताए । गोपालले भने– हटाएर मात्र हुदैन , हाम्रो यहि व्यवस्थापन हुनुपर्छ । नगरपालिकाले नयाँ संरचना बनाउने कुरा राम्रो भएको बताउँदै उनले आफुहरुले नयाँ संरचनामा भाडा तिरेर बस्न पाउनुपर्ने बताए ।

बजारभित्र पुराना दुई वटा किराना पसल छन् । २५/३० वर्षदेखि सञ्चालन रहेका किराना पसलेले मासिक १२० रुपैयाँ भाडा रहेको जानकारी दिए । नगेन्द्र थापा ०५० सालदेखि किराना पसल चलाउँदै आएका छन् । उनले सबैले छोडे भने आफुले पनि छोडिदिने बताए । उनले भने, तर हामीलाई नयाँ संरचनामा बस्न दिनुपर्छ । यस्तै, निरा डाँगीले पनि आफु ०४६ सालदेखि व्यवसाय गरिहरेको बताइन् । उनले ६० रुपैयाँदेखि मासिक भाडा तिर्दै आएको बताइन् । उनको पनि अहिले १२० रुपैयाँ भाडा रहेको जानकारी दिइन् ।

विगत २० वर्षदेखि सोहि बजार भित्र मासु व्यवसाय गरिरहेका डम्बर कुमार मगरले १०/१५ रुपैयाँ भाडा तिरेको सुनाए । उनीहरु अहिले निशुल्क रुपमा बसिरहेको जानकारी दिए । उनले आफुले पटक–पटक नगरपालिकालाई व्यवस्थापनका लागि आग्रह गरेको बताए । नयाँ संरचना बन्ने खवरले खुशी भएको भन्दै मगरले नयाँ संरचनामा भाडा तिरेर बस्ने बताउँछन् । उनले मासुको व्यापार गर्नेहरुलाई सोहि अनुसारको संरचना बनाइदिन आग्रह गरेका छन् ।
बजारभित्र बनेका संरचनाको किनबेच समेत भइरहेको बुझिएको छ । नगरपालिकाको स्वामित्वमा रहेको बजार क्षेत्रमा बनेका अस्थायी संरचना समेत लाखौं रुपैयाँमा किनबेच भइरहेका छन् । किनबेच लाखौं रुपैयाँमा भए पनि भाडा शुन्य सरह छ ।

प्रकाशित मिति : पुष ९, २०७७ बिहीबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]