जेष्ठ ५, २०८१ शनिबार

नेपालीलाई पुग्ने खाद्यान्न नेपालमै

काठमाडौँ । नेपालीलाई खान पुग्ने खाद्यान्न नेपालमै उत्पादन हुन्छ । नेपालमा भएको उत्पादन खानका लागि मात्र नभई बचत पनि हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको छ ।

कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा जम्मा उपभोग्य प्रशोधित खाद्यान्न उपलब्धता ७३ लाख १२ हजार १७२ मेट्रिक टन रहेको छ । त्यसमध्ये नेपालीले ५६ लाख १९ हजार ०२३ मेट्रिक टन मात्र खान्छन् । १६ लाख ९३ हजार १४९ मेट्रिक टन बचत हुने गरेको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीका अनुसार यो गहुँ, धान, मकै, कोदो, फापर, जौको तथ्याङ्क मात्र हो, जुन प्रशोधन गरेर मानिसले खाने गरेका छन् ।

यसमा माछा, मासु, तरकारीलगायतका खाद्यान्न राख्यो भने अझै बचत हुने अवस्था रहन्छ । उहाँले भन्नुभयो, उत्पादन र प्रशोधन गरी मानिसले खाने खाद्यान्नको कुरा मात्र यहाँ गरिएको छ । खाद्यान्न अन्य प्रयोजनका लागि पनि प्रयोग हुन्छ, त्यसलाई तथ्याङ्कमा उल्लेख गरिएको छैन । धान, गहुँ, कोदो, फापर, मकै, जौ अन्य प्रयोजनका लागि पनि प्रयोग हुन्छ ।

पशु, चरा चुरुङ्गीको दाना, बिस्कुट, अन्य ‘ड्राइफुड’ उत्पादनका लागि पनि यसको प्रयोग हुन्छ । मानिसले खानेबाहेक अन्य कुरामा पनि खाद्यान्न प्रयोग हुने भएकाले अलि थोरै अपुग भएर आत्मनिर्भर नभएको जस्तो देखिएको नत्र नेपाल अधिकांश खाद्यान्नमा आत्मनिर्भर रहेको उहाँले दाबी गर्नुभयो ।

गत आर्थिक वर्ष धान ५५ लाख ५० हजार ८७८ मेट्रिक टन उत्पादन भएको थियो भने मकै २८ लाख ९३ हजार ९८७ मेट्रिक टन उत्पादन भएको थियो । गहुँ २१ लाख ८५ हजार २८९, कोदो दुई लाख ४६ हजार ९९९, फापर आठ हजार ९९०, जौ सात हजार ३९५ मेट्रिक टन उत्पादन भएको थियो । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको २०७/७६ को तथ्याङ्कअनुसार नेपालमा उत्पादित प्रशोधित खाद्यान्न सातवटै प्रदेशमध्ये बागमती प्रदेशमा अपुग गरेको छ ।
बागमती प्रदेशमा उपभोग्य प्रशोधित खाद्यान्न नौ लाख ९१ हजार ५६९ मेट्रिक टन रहेको छ भने सो प्रदेशका ६१ लाख ५५ हजार ६२४ जनसङ्ख्याका लागि १२ लाख १८ हजार ६०४ मेट्रिक टन आवश्यक छ । बागमती प्रदेशका लागि दुई लाख २७ हजार ३५ मेट्रिक टन प्रशोधित खाद्यान्न कम रहेको छ ।

अत्यधिक जनसङ्ख्या र सहरीकरणका कारण खाद्यान्नको माग बढी हुन गई बागमतीमा खाद्यान्न न्यून हुन गएको कृषि मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्कअनुसार प्रदेश १ मा छ लाख २८ हजार ९७८, तीन लाख ५५ हजार ६९५, गण्डकी प्रदेशमा दुई लाख १९ हजार ५१४, लुम्बनी प्रदेशमा चार लाख ७५ हजार २८७, कर्णाली प्रदेशमा ६९ हजार २७६ र सुदूरपश्चिम प्रदेशमा एक लाख ७१ हजार ४३४ मेट्रिक टन खाद्यान्न बचत हुने गरेको छ ।
गत आर्थिक वर्ष ३५ लाख मेट्रिक टन मासु उत्पादन भएको थियो । दूध २० लाख ६० हजार, माछा ९३ हजार मेट्रिक टन उत्पादन भएको थियो भने अन्डा एक अर्ब ६२ करोडवटा उत्पादन भएको थियो ।

पशु सेवा विभागका अनुसार नेपालीलाई ९२ लिटर दूध वार्षिक चाहिन्छ तर हाल ७५ लिटर मात्र पुगिरहेको छ । त्यस्तै एकजना व्यक्तिलाई वार्षिक १४ केजी मासु चाहिन्छ तर १३.२ केजी मात्र पुगिरहेको छ । अन्डा मात्र बढी उत्पादन भएको छ । एक जना व्यक्तिलाई वार्षिक ४८ वटा चाहिन्छ तर ५५ वटा आपूर्ति भइरहेको छ । देशमा उत्पादनमा वृद्धि भएसँगै आयातमा कमी आएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : पुष १७, २०७७ शुक्रबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]