शिवसताक्षीका अधिकांश विद्यालयहरु स्मार्ट बनाइनेछ : मेयर थोप्रा
झापाको मध्य भागमा रहेको शिवसताक्षी नगरपालिका धार्मिक एवम् पर्यटकीय गन्तव्यका हिसावले अगाडि छ । धार्मिक एवम् पर्यटकीय गन्तव्यमा अगाडि रहेको नगरपालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्न गरिरहेको मेहनत सह्रानीय पाइएको छ । जनप्रतिनिधि र कर्मचारीहरुको मेहनत, शिक्षक कर्मचारीको लगावले अब शैक्षिक क्षेत्रमा सुधार आउने निश्चित छ । स्थानीय तहको मातहतमा आएपछि शैक्षिक गुणस्तर सुधारमा सकेसम्म प्रयास गरिरहेको नगर प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) को भनाई छ । उनले शैक्षिक सुधारको यात्रा अब तिब्र गतिमा अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।
विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण कसरी बढाउन सकिन्छ भन्दै नगरपालिका योजनावद्ध ढंगले लागिरहेको नगर प्रमुखको भनाई छ । उनका अनुसार भौतिक पूर्वाधारलाई व्यवस्थित गर्दै शिक्षाको गुणस्तर सुधारमा केन्द्रीत भएको अवस्था छ । गर्नुपर्ने कामहरु धेरै छन्, शिक्षा क्षेत्रको सुधार आजको भोली संभव छैन, उनले भने – तर, सुधारको यात्रा प्रारम्भ भइसकेको छ । यहाँका सामुदायिक विद्यालयहरुलाई आकर्षक बनाउदै निजीभन्दा गुणस्तरीय र भौतिक पूर्वाधारमा समेत सम्पन्न बनाउने योजना अनुसार काम गर्दै आएका छौं ।
विद्यालय आकर्षक बनाउदैं गुणस्तर सुधारका लागि कार्यक्रमहरु सञ्चालन भइसकेका छन् । नगरले स्मार्ट विद्यालय बनाउने कार्यक्रम अनुरुप ७५ लाखको व्यवस्थापन मिलाएर काम सुरु गरिसकेको छ । अन्य पालिकाहरुबाट पनि शिवसताक्षीका विद्यालयहरु अवलोकन गर्न आउन् भन्ने गरि नगरको तर्फबाट काम भइरहेको छ । वडा नं. ७ को बालसेवा आधारभुत विद्यालय, वडा नं. ५ को सुर्योदय आधारभुत विद्यालय, बालनिकुञ्ज मावि र राष्ट्रिय रमणिय आदर्श माविमा स्मार्ट विद्यालय कार्यक्रम सञ्चालन भइसकेको छ । यहि कार्यकालभित्र १०÷१५ वटा विद्यालयलाई स्मार्ट बनाउने योजना छ । शिवसताक्षी नगरपालिकाको तेस्रो वर्ष सकिदै गर्दा केहि विद्यालयहरु गुणस्तरीय र भौतिक रुपमा पनि सुविधासम्पन्न हुने भएका छन् ।
नगरपालिकाले शिक्षाको मुल जगलाई नै बलियो बनाउने गरि काम गर्दै आएको छ । जग बलियो बनाउनका लागि स्थानीय शिक्षा ऐनको मस्यौदा तयार गरेर बोर्ड बैठकमा पुराइएको छ भने यसै वर्ष शिक्षा नियमावलीलाई अगाडि बढाइने नगर प्रमुख थोप्राको भनाई छ । उनले शैक्षिक सुधारका लागि नियमावली, ऐन एकातिर भए पनि शिक्षक, अभिभावक र विद्यार्थीको मेहनत नै प्रमुख कुरा भएको बताए । स्थानीय सरकारको तर्फबाट अवलोकन, निगरानी र सल्लाह सूझाव दिने उनले बताएका हुन् ।
एकबेला शिक्षणमा समय नदिएको भन्ने शिक्षकहरु विरुद्ध ठुलो गुनासो हुने गरेको थियो । अहिले शिक्षा स्थानीय तहको मातहतमा आएपछि सुधार भएको छ । शिक्षकहरुको निगरानी इहाजिरीबाट हुन्छ । उहाँहरुले विद्यालयमा समय दिए ÷नदिएको जानकारी राख्न सकिन्छ । यदि समय नदिएमा शाखाको तर्फबाट सोधीखोजी भइहाल्छ । त्यसैले शिक्षकले जिम्मेवारीबाट भाग्न सक्नुहुन्न । उहाँहरुको पनि उत्तिकै दायित्व भएकाले जिम्मेवार पूर्वक नै नगरको शैक्षिक सुधारमा योगदान गरिहेको अवस्था छ, उनले थपे ।
नगरभित्र धेरै विद्यालयको अवस्था नाजुक छ । सबै विद्यालयहरुको शैक्षिक स्तरसँगै पूर्वाधार निर्माणमा लागिपर्नेे नगर प्रमुखको योजना छ । उनले कतिपय विद्यालयहरु उत्कृष्ट र नगरको नामलाई उच्च बनाउने गरि परिणाम निकालिरहेको जानकारी दिए । अंग्रेजी माध्यम समेत थप गरेर कतिपय विद्यालयहरुले विद्यार्थी आकर्षणमा ध्यान दिइरहेको अवस्था छ ।
विगतका धेरै समस्याहरु समाधान हुँदै सुधारको बाटोमा रहेको नगर प्रमुखको धारणा छ । उनले विद्यालयमा अभिभावकहरुले पनि चासो बढाउन थालेको बताए । व्यवस्थापन समिति, प्रधानाध्यापक र अभिभावकहरुको प्रयासबाट मात्रै विद्यालय सुधार गर्न सकिने उनको बुझाई छ । आफ्नो बालबालिकाहरुको पढाई कस्तो भइरहेको छ भन्ने बुझ्नका लागि अभिभावकहरुले खोजी गर्नुपर्ने उनको धारणा छ ।
कक्षा ११ का विद्यार्थीहरुको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ । त्यसका लागि नगरपालिकाले ३० लाख बजेटको व्यवस्था मिलाइएको थियो । प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ६÷६ हजार व्यवस्था गरिएको छ । यस्तै, नगरको तर्फबाट छात्रवृत्तिमा ४५० विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।
सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन राम्रो, सुविधा सम्पन्न भौतिक पूर्वाधारको जरुरी छ । पुराना भवन, संरचनाहरु दयनीय पनि छ । धेरै संरचनाहरु सुधार गरिसकेको अवस्था छ । विद्यालय क्षेत्र अनुशासित छ भन्ने सन्देश दिन सकियो भने विद्यार्थीहरु आकर्षित गर्न सकिन्छ ।
अभिभावकहरु विद्यालयमा बेलाबेला जाँदा पनि शैक्षिक सुधारका निमित्त सहयोग पुगेको छ । पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या बढ्दै गएपछि स्थानीय सरकारले थप सुधारका लागि योजना बनाएरै जाने सोच बनाएको छ । शिक्षक, कर्मचारीको मेहनत राम्रो छ । दक्ष, अनुभवीहरुबाट पठनपाठनको काम चलिरहेको छ । शिक्षामा थोरै मात्र सुधार ल्याउन थालियो भने त्यसको असर राम्रो पर्छ । अहिले शिवसताक्षीका सामुदायिक विद्यालयहरुमा रामै आर्थिक अवस्था भएको परिवारबाट पनि बालबच्चाहरु पठाइरहेको अवस्था छ । यसले पनि विद्यालय क्षेत्रमा सुधार आइरहेको स्पष्ट हुन्छ ।
नगरभित्रका विद्यालयहरुले नतिजामा पनि सुधार ल्याएको नगर प्रमुखले सुनाए । निजीमा भन्दा एसईईमा राम्रो नतिजा राष्ट्रिय रमणिय आदर्श माविका विद्यार्थीहरुले ल्याए । यो सुधारको सुरुवातमा देखिएको परिणाम हो । अझै पनि शैक्षिक उन्नतिका लागि सम्बन्धित पक्षबाट मेहनत हुनेछ ।
नगर प्रमुखले नगरभित्रको शैक्षिक संस्थाहरुको गुणस्तर सुधारका लागि शिक्षा शाखा मार्फत पनि सूझाव तथा सल्लाह समेत दिन आग्रह गरेका छन् । सबैको लक्ष्य भनेको शिक्षा क्षेत्रको सुधार नै हो । शिक्षामा सुधार ल्याएर मात्रै नगरलाई संवृद्धिको बाटोमा हिडाउन सकिने उनको भनाई छ ।
राम्रो भौतिक पूर्वाधार, खानेपानी, यातायात सुविधाहरु समेत भएको शिवसताक्षीमा बस खरिदका लागि नगरपालिकाले बाल निकुञ्जलाई ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । नगर प्रमुखले शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक सामग्रीहरु उपलब्ध गराउदै आएको जानकारी दिए ।