चैत्र १५, २०८० बिहीबार

फागुन २८ मा ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड – २०७६’ प्रदान गर्ने

बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ ।

मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७४ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो चौथो संस्करण हो । बिर्तामोडमा आयोजना हुने अवार्ड २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिए ।

अवार्ड फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । प्रदेश नम्बर १ मै चौथोपटक मञ्चको झापा समन्वय शाखाले अवार्ड कार्यक्रम गर्न लागेको हो । साविक मेची अञ्चलका इलाम, पाँचथर, ताप्लेजुङ र झापाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।
विगतका वर्षमा जस्तै यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ६ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।

वर्ष खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको बताइएको छ । पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

विगतमा झैँ वर्ष खेलाडी पुरुष विजेतालाई मोटरसाइकल र महिला विधाका विजेतालाई स्कुटर प्रदान गरिनेछ । युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ३५ हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जनाएको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै, सहारा अटोमोबाइल्स प्रालि र सहारा नेपाल बिर्तामोडले दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा अवार्ड मुल आयोजक समिति गठन गरिएको छ । मञ्चका सम्पूर्ण सदस्य मुल आयोजक समितिका सदस्य रहनेछन् ।

मञ्चका सदस्य सचिन सुब्बाको संंयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । सदस्यहरुमा नमिन ढकाल र चिरञ्जीवी घिमिरे छन् । मञ्चका अध्यक्ष खरेल र सचिव अर्जुन राजवंशी पदेन सदस्य रहनेछन् ।

अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ । उपाध्यक्ष अमित खम्बू संयोजक रहेको स्वयमसेवक उपसमिति, सहसचिव भूमिका सुब्बा संयोजक रहेको प्रचारप्रसार उपसमिति, कोषाध्यक्ष राजु पौडेल संयोजक रहेको आर्थिक उपसमिति, कार्यसमिति सदस्य विनोद पाण्डे संयोजक रहेको प्राविधिक उपसमिति र सदस्य बुद्ध तामाङ संयोजक रहेको अतिथि सत्कार तथा सांस्कृतिक उपसमिति गठन गरिएको छ ।

गत वर्ष पुरुषतर्फ शारीरिक सुगठनका उमेश राई, महिलातर्फ करातेकी एस्तर राई, युवातर्फ क्रिकटकी अप्सरी बेगम, र प्रशिक्षकतर्फ फुटबलका हरि खड्काले अवार्ड जितेका थिए । यसैगरी पिपल्स च्वाइसको अवार्ड फुटबलका कर्ण लिम्बूले जितेका थिए भने लाइफटाइम एचिभमेन्ट अवार्ड भलिबलका गणेशविक्रम नेम्वाङलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : पुष २६, २०७७ आईतबार  ४ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]