बैशाख ११, २०८१ मंगलबार

बिर्तामोडका किसान भन्छन्, हाम्रो जीवन बद्लिदैछ

प्रदीप परियार

झापा बिर्तामोड – ६ कि सरिता लिम्बु केहि वर्षअघिसम्म १/२ वटा सुगुर पाल्दै थिइन् । उनले घरको खल्याङखुलुङ (खानपिन पछि उब्रिएको खाना) खानका लागि सुगुर पालिरहकी थिइन् । उनी व्यवसायिक रुपमा सुगुर पाल्दिन थिइन् । तर, बिर्तामोड नगरपालिकाले अनुदानमा सुगुर उपलब्ध गराएपछि अहिले व्यवसायिक रुपमा सुगुर पाल्न थालेकी छन् । केहि वर्षअघिसम्म उनको घरमा १/२ वटा सुगुर हुन्थ्यो । अहिले ८/१० वटा सुगुर पालिरहेकी छन् । नगरपालिकाले खोर समेत बनाइदिएको छ । अनुदानमा पाठा र खोर बनाउने रकम दिए पछि उनले व्यवसायिक रुपमा सुगुर पाल्न थालकी छन् ।

पहिले सामान्य घर खर्च चलाउन उनलाई समस्या थियो । अहिले सुगुर पालनबाटै घर खर्च राम्रोसँग चलेको छ । घर खर्चसँगै सन्तानलाई अध्ययन गराउन समेत सुगुर विक्रिबाटै आएको आम्दानी पर्याप्त छ । नगरपालिकाले दिएको दुई वटै पाठा माउ भएका छन् । एउटै माउले १० वटासम्म बच्चा जन्माउछ । एउटा पाठाको मुल्य कम्तिमा ५ हजार हुन्छ । गाउँघरमै ति पाठा विक्रि हुन्छन् । विक्रिको लागि टाउँको पनि दुखाउनु पर्दैन । बाहिर कतै विक्रीका लैजानु पनि पर्दैन । सन्देश कृषि समूहमा आवद्ध सरिताले गाउँमा प्रतिष्पर्धा गरेरै सुगुर पालन गरिरहेको समूहकी अध्यक्ष आइतमाया शेर्माले बताइन् ।

०७४/७५ मा बिर्तामोड नगरपालिकाले उनीहरुको समूहलाई एक सदस्य बराबर २ वटा पाठा दिएको थियो । दुई वटा पाठा र २५ हजार बराबरको खोर समेत बनाइदियो । नगरको सहयोगले उत्साहित सरिता जस्तै पशु पालक किसान अहिले दर्जनौ सुगुर पालिरहेका छन् । उनीहरुलाई नगरको सहयोगका कारण व्यवसायिक रुपमा काम गर्न प्रोत्साहन मिलेको अध्यक्ष आइतमायाको भनाई छ । हरेक सदस्यले माउका लागि पाएको पाठापाठीले बच्चा हुनासाथ नगरलाई त्यसै गरि पाठा फिर्ता गरे । फिर्ता गरेको पाठा उनीहरु जस्तै अन्य किसानलाई समूह मार्फत वितरण गरिएको बिर्तामोड नगरपालिकाकी पशु शाखा प्रमुख सावित्रा दाहालले बताइन् । कार्यक्रमको उदेश्य अनुरुप नै एउटा किसानले आफुले पाएको पाठा त्यसै गरि नगरलाई फिर्ता गर्ने सर्त छ । पाठा हुर्काउने र माउ बनाउने । माउ राखेर २ वटा पाठा फिर्ता गर्ने सर्त रहेको प्रमुख दाहाल बताउछिन् ।

बिर्तामोड नगरपालिकाले पशु पालक किसानका लागि विभिन्न कार्यक्रम निर्माण गरेर राहत सहयोग गर्दै आएको छ । विपन्न, गरिव किसानलाई लक्षित गरि मेयर पकेट प्याकेज कार्यक्रम सञ्चालित छ । पशु पालक किसानलाई व्यवसायिक पशु पालनमा सहयोग गर्ने उदेश्यका साथ सुरु गरिएको कार्यक्रम सफलताको बाटोमा देखिएको छ । सो कार्यक्रमले विपन्न, गरिव किसानलाई सामुहिक पशु पालनमा जोड्न सहयोग पु¥याएको छ ।

आइतमाया अध्यक्ष रहेको समूहका सदस्यले सुगुर पालनसँगै फ्रेस हाउस समेत सञ्चालन गर्दै आएका छन् । सुधारिएको फ्रेस हाउस सञ्चालनका लागि सहारा नेपाल, नगरपालिका र व्यवसायीको साझेदारी छ । फ्रेस हाउस अन्य फ्रेस हाउस जस्तो पनि छैन । त्यहाँको संरचना नै बेग्लै छ । त्यहाँ अनिवार्य सरसफाई हुनुपर्ने मापदण्ड छ । टायल्स अनिवार्य गरिएको छ । त्यहाँ प्रयोग गरिने अचानो समेत आधुनिक किसिमको छ । सामूहिक काममा सबैलाई नाफा र कम जोखिम हुने आवद्ध सदस्यहरुको भनाई छ ।

सुगुर पालन गरिरहेका ति किसान नगरपालिकाको सहयोगबाट सन्तुष्ट छन् । उनीहरुले यसअघि कुनै पनि सहयोग नपाएको समेत बताए । सरिता भन्छिन्, योभन्दा अघि बिर्तामोड नगरपालिकाबाट कुनै सहयोग पाएका थिएनौं । अहिले नगरपालिकाको सहयोगका कारण नै आर्थिक जीवनलाई समेत सुधार गरिरहेका छौं । अब उनीहरलाई सुगुरको चारो बनाउने मेसिनको खाँचो छ । बिर्तामोड नगरपालिकाले मेसिन सहयोग गरिदिए हुन्थ्यो भन्ने आशा छ ।

बिर्तामोड – ७ मा पशु शाखाले सिरीजंगा बाख्रा पालन समूहलाई त्यसैरी बाख्राका पाठा वितरण गरेको थियो । गएको आर्थिक वर्षमा १५ जना किसानलाई ४५ वटा पाठापाठी उपलब्ध गराइएको थियो । हरेक किसानलाई ३/३ वटाका दरले बाख्राका पाठा वितरण गरिएको पशु प्राविधिक निमेश थापाले जानकारी दिए । उनका अनुसार ति किसानले पनि बाख्राले पाठापाठी जन्माए पछि फिर्ता गर्ने सर्त हुन्छ । अहिले बाख्रा पाउने सो समूहमा २ वटा बाख्रा मात्र व्याएका छन् । लोकल जातका बाख्रालाई प्रजनन् गराएर ५० प्रतिशत बोयर बाख्राको उत्पादनमा लागिएको प्राविधिक थापाको भनाई छ । किसानलाई बोयर बाख्राबाट मनग्ये आम्दानी हुने भएकाले सो विधि अपनाइएको छ । एउटै पाठा तीन महिनामा ५० हजारसम्म विक्रि हुन्छ । गरिव, विपन्न किसानका लागि स्थानीय सरकारले बाख्रामा पनि उत्तिकै प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको किसान इन्द्र बहादुर लिम्बु बताउँछन् । उनले नगरले खोर र बाख्रा नै सहयोग गरेकाले किसान व्यवसायिक बाख्रा पालमा जागरुप भएको बताए । लिम्बुले अन्य सदस्यलाई समेत बाख्रा र खोर अनुदानमा सहयोग गर्न आग्रह गरेका छन् ।

बिर्तामोड नगरपालिकाले मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत ग्रामीण समुदायमा कुखुरा,बाख्रा,बंगुर पालनमा किसानलाई विशेष अनुदान प्रदान गरिहरेको छ । पहिलो वर्ष कुखुरा, बाख्रा र सुगुर अनुदान दिए पनि दोस्रो वर्षदेखि कुखुरा हटाइएको छ । किसानले कुखुरा पालनमा इच्छा नदेखाएकाले हटाइएको थियो ।

यो कार्यक्रम दलित, एकल महिला, आदिवासी ,जनजाति समुदायलाई प्राथमिकता दिइएको छ । हरेक समूहमा १५/१५ जना सदस्य रहने व्यवस्था मिलाइएको छ । समूहमा सबै जाति हुनुपर्नेछ । पशु शाखाले बाख्रा र सुगुर दिएपछि त्यसको औषधि उपचार र बीमामा समेत सहयोग गर्दै आएको छ । ट्याग गर्ने, नस्ल सुधार गर्ने लगायतका जिम्मेवारी पशु शाखालाई हुने बताइएको छ । शाखा प्रमुख दाहालले बिर्तामोड नगरपालिकाले पशु पालक किसानका लागि गरिरहेको कामबाट किसान खुशी रहेको जानकारी दिइन् । बाख्रा पकेट कार्यक्रम वडा नं. ७,८,९,१० मा सञ्चालन भइरहेको छ ।
सुगुर अनुदानमा नगरपालिकाले अनिवार्य बिर (बोका) पनि दिने गरेको छ । बिर लगाउन खर्च नबढोस् भन्ने उदेश्यले बिर प्रदान गरिहदै आएको शाखाले जनाएको छ । सुगुरमा हालसम्म पाँच वटा समूह लाभान्वित भइसकेका छन् । उनीहरुले पाठा फिर्ता पनि गरिसके । सुगुर पकेट कार्यक्रम अहिले तेस्रो चरणमा सञ्चालन भइरहेको छ ।

गोठ सुधार कार्यक्रम
बिर्तामोड नगरपालिकाले भकारो अर्थात गोठ सुधार कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन भइरहेको जनाएको छ । पशुलाई रोग मुक्त गर्न भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको हो । पशुको मलमुत्र एकै ठाउँमा हुँदा पशुलाई रोग लाग्ने, विभिन्न समस्या आइपर्ने प्राविधिकको भनाई छ । दुई वटादेखि पाँच वटासम्म पशु पालन गर्ने किसानलाई लक्षित गरि भकारो सुधार कार्यक्रम सञ्चालन गरिदैं आएको छ । यसले पशु थुनेलोबाट समेत बचाउनेछ । विशेष गरि पिसाव र गोवरको व्यवस्थापन गर्नु यस कार्यक्रमको मुख्य उदेश्य हो । टिनको छानो बनाएर मलमुत्रलाई फरक ठाउँमा जम्मा गरिने भएकाले त्यसको पुनप्रयोग प्रभावकारी हुने छ । मलमुत्रमा हुने तत्व उढेर जान पाउदैन । सो मलमुत्र करेसाबारीमा प्रयोग गर्दा उत्पादन राम्रो हुने र रसायनिक मलको प्रयोग गर्न नपर्ने हुन्छ । यसका लागि २५ देखि ३५ हजारसम्म दिने योजना बनाइएको छ । ०७७/७८ का लागि छनोट प्रक्रिया समेत शुरु भइसकेको पशु शाखाले जनाएको छ ।

कुटी वितरण
पशु पालनमा किसानलाई घाँस, चारोको व्यवस्थान अत्यन्तै कठिन छ । त्यसलाई सहज बनाउन नगरपालिकाले किसानलाई १० हजार रुपैया पर्ने च्यापकटर (कुटी मेसिन) वितरण गर्दै आएको छ । ०७६ ÷७७ मा नगरले ७५ थान कुटी काट्ने मेसिन वितरण गरेको तथ्याङक छ । यो वर्ष १२ हजार पर्ने मेसिन ४४ थान वितरण गर्ने योजना छ । किसानलाई स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्न कुनै कमि नहुने जनप्रतिनिधिको भनाई छ । यस्तै, बिर्तामोड नगरपालिकाले माछा पालन गर्ने र गर्न चहाने किसानलाई विज्ञबाट तालिन प्रदान गर्ने तयारी गरिरहेको छ ।
मासु पसल सुधार कार्यक्रम सञ्चालन गरेर नगरपालिकाले फे्रस हाउसको स्वरुप नै बदल्न थालेको छ । प्रायःफ्रेस हाउसमा फोहोर हुने गर्छ । तर, सुधार कार्यक्रमले बिर्तामोड क्षेत्रका २० वटा फ्रेस हाउस चिटिक्क बनेका छन् । बिर्तामोड नगरपालिकाल, सहारा नेपाल र व्यवसायीको १÷१ लाख लगानीमा मासु पसल सुधार कार्यक्रम सञ्चालन भइरहेको छ । यसले सरसफाई र व्यवसायिकतालाई जोड दिएको छ ।

गरिव किसानलाई प्राथमिकता
नगरपालिकाले सम्पन्न भन्दा विपन्न किसानलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिहरेको छ । ठुला र सम्पन्न किसानले अनुदानलाई सदुपयोग नगर्ने बुझाई छ । नगरपालिका समेतले ठुला किसानलाई अनुदान दिँदा प्रभावकारी नभएको निष्कर्ष निकालेको छ । तर, विपन्न गरिव किसानलाई अनुदान उपलब्ध गराउन प्रभाबकारी रुपमा काम गर्ने गरेको पशु शाखाले जनाएको छ । किसानले पनि नगरको बजेट, कार्यक्रममा कृषि र पशुलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनीहरुले ठुलै स्केलमा अनुदानको अपेक्षा समेत गरेका छन् ।

किसानसँग स्थानीय सरकार
बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव कुमार शिवाकोटीले तल्लो तहसम्म स्थानीय सरकारको प्रत्याभुत भइरहेको बताएका छन् । उनले गरिव, विपन्न किसानसम्म स्थानीय सरकार पुगेको बताए । हामी हरेक पशु पालक किसानलाई व्यवसायिक जीवनका लागि सहयोग गर्न तत्पर छौं, मेयर शिवाकोटी भन्छन् । उनले पछिल्लो समय पशु पालक किसानको परिवारमा खुशी समृद्धि शुरु भएको बताए ।

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार  १० : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]